पुष्पा न्यौपाने
छोरी…
तिमी सानी थियौ,
जब म यो टाढा देश आउनुपर्यो।
तिमीले “आमा कहिले फर्किन्छ्यौ?” भनेर सोध्दा
म मुस्कुराए पनि… भित्रभित्रै भत्किएर रोएँ।
तिमी हिँड्न सिक्यौ, बोल्न सिक्यौ —
तर त्यो सबै म टाढाबाट हेरिरहेकी थिएँ,
मोबाइलको पर्दाबाट…
काखमा राख्न पाइन, निधारमा चुम्न पाइन।
तिमी बिरामी भयौ भनेर फोन आयो,
र म पैसा कमाउँदै थिएँ,
तर आँखा रसाउँदै काम सकिँदासम्म
तिमी निदाइसकेकी थियौ।
छोरी, माया गहिरो छ —
तर यो दूरी झन् गहिरो भएको छ।
तिमीले “ममा” भनेर बोलाउँदा
मलाई संसार मिलेजस्तो लाग्छ,
तर तिमी रोएको सुन्दा —
संसार खसेजस्तो लाग्छ।
म चाँडै फर्किन्छु…
फेरि त्यो सानो हात समाउन,
र तिमीलाई काखमा राखेर
सारा अधुरा सपना पुरा गर्न।















