प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताएका छन् ।
मंगलवार बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पचासौं लाख गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको जानकारी दिँदै यो निकै ठूलो उपलब्धि भएको दाबी गरे ।
‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु,’ उनले भने, ‘त्यसकै बलमा तपाईंहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ ।
संविधानमा व्यवस्था भएपश्चात् पनि कानूनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्यो । निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले राष्ट्रपतिलाई नागरिकता विधेयक सदर गर्न आग्रह गरेको स्मरणसमेत गरे ।
गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवाललाई आफूहरूले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको पनि उनले बताए ।
‘गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवाललाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौं,’ उनले थपे, ‘सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड रुपैयाँ कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ ।’
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्य र बद्रि केसीलाई नागरिकता दिएर मंगलवार प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूलाई नागरिकता हस्तान्तरण शुरू गरेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com