पाटनको मंगलबजारमा प्यालेष्टाइन र प्यालेष्टिनी जनताको पक्षमा ऐक्यबद्धता जनाउँदै प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको छ । बृहत नागरिक आन्दोलन र फोटो सर्कलको आयोजनामा भएको कार्यक्रममा युद्ध विरामको निम्ति आग्रह गरिएको छ ।
उनीहरुले ‘भूमि चोर्न पाईंदैन, देश हत्याउन पाईंदैन’, ‘यो युद्ध होइन, हमला हो’ र ‘यो नरसंहार हो, मानवविरुद्धको अपराध पनि हो’ लगायत नारा लेखेका छन् ।
इजरायलले प्यालेस्टाइनको सीमा क्षेत्र गाजा शहरमा गरेको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरिएको आयोजकले बताएको छ । नागरिक आन्दोलनका प्रमुख डा.संजिव उप्रेती तथा फोटो सर्कलका प्रमुख नैनकलाको अगुवाइमा भएको प्रदर्शनमा दर्जनौँ अधिकारकर्मी सहभागी थिए ।
सहभागीहरूले प्यालेस्टाइनी स्वतन्त्रता गीत बजाउनुका साथै समर्थनमा प्लेकार्ड डिस्प्ले गरेका थिए । उनीहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूले भोगेको समस्या प्रस्तुत गरिएको थियो । गाजामा रहेका मानिसहरूले पठाएको र अनुवाद गरिएका ती भोगाइमा प्यालेस्टाइनका बासिन्दाले दैनिक रूपमा भोग्न परेको त्रासदी, अभाव, निरन्तर गोलाबारी, खानाको लागि सङ्घर्ष र अक्टुवर ७ देखि सुरु भएको कारबाहीका समयमा भएका घटनालाई प्रस्तुत गरिएको थियो ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिक्रियास्वरूप इजरायलले गरेको हमलाका कारण हजारौँ निहत्था मानिसको ज्यान गइसकेको छ । त्यस घटनामा १० जना नेपाली विद्यार्थीले समेत ज्यान गुमाएका छन् ।
हमासविरुद्ध कारवाही चलाएको इजरायलले गाजास्थित अल अहली अरब अस्पतालमा गरेको आक्रमणका कारण त्यहाँ रहेका बिरामी, स्वास्थ्यकर्मी र सुरक्षित आश्रय खोजिरहेका सर्वसाधारणको ठूलो हताहती भएको हो । उक्त घटनाले विश्व समुदायलाई स्तब्ध र आक्रोशित पारेको नागरिक आन्दोलनको ठहर छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com