गाजा क्षेत्रमा हमलाबीच इजरायली सेनाले गाजापट्टीमा एक किलोमिटर लामो नयाँ सुरुङ फेला पारेको छ ।
हमासले ७ अक्टोबरमा इजरायलमाथि हमला गरेर अपरहण गरेका २० जना इजरायली बन्धकलाई यही सुरुङमा राखेको इजरायली सेनाको दाबी छ । इजरायली सेनाका प्रवक्ता एडमिरल ड्यानियल हगारीले एउटा होल्डिङ क्षेत्र, पाँचवटा साना कोठा, शौचालय र अपहरणमा परेका एक बालकले बनाएको आर्ट पनि प्राप्त भएको बताएका छन् ।
ती बालक गत नोभेम्बरमा भएको ७ दिने युद्धविरामको समयमा मुक्त भएका थिए । इजरायली सेनाले भूमिगत सुरुङका तस्वीरसमेत जारी गरेको छ । खान युनिसको दक्षिणी क्षेत्रमा हमासका एक सदस्यको घरसँग सो सुरुङ जोडिएको पाइएको छ । सुरुङ पत्ता लागे पनि त्यहाँ कुनै पनि बन्धक इजरायली सेनाले भेट्टाउन सकेन ।
हमासले रिहा गरेका कुनै बन्धकले दिनको उज्यालो नआउने, कम अक्सिजन भएको अँध्यारो सुरुङमा आफूहरूलाई राखेका जानकारी दिएका आधारमा इजरायली सेनाले सुरुङको खोजी गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा प्यालेस्टिनी सम्प्रभुता अस्वीकार गरेको समाचार बाहिर आएलगत्तै इजरायली सेनाले पनि यो सुरुङ फेला पारेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धपछि प्यालेस्टिनी राज्यको मान्यता दिनुपर्ने भन्दै राखेको प्रस्ताव विपरीत नेतान्याहुले गाजाको सम्प्रभुता अस्वीकार गरेका हुन् । उता इजरायल-हमास युद्धबीच देशको सुरक्षा खतरामा पारेको भन्दै प्रधानमन्त्री नेतान्याहुविरुद्ध तेल अभिभमा भीषण प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरूले नेतान्याहुको अनुहारमा रगतले पोतिएका हातको छाप बनाएको पोस्टर बोकेका थिए । युद्ध लम्बिँदै जाँदा नेतान्याहुको लोकप्रियता घट्दै गएको देखिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com