प्यालेस्टिनी जनताविरूद्ध इजरायलले जारी राखेको ‘नरसंहार’को विरोध गर्दै विश्व सामाजिक मञ्चले काठमाडौंबाट ‘प्यालेस्टाइन घोषणा’ सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चको १६औं संस्करणको समापनमा उक्त घोषणा जारी गरिएको हो। चार महीनादेखि गाजामा इजरायलले जारी राखेको नरसंहारको सबै सहभागीले विरोध गरेको घोषणामा उल्लेख गरिएको छ।
सन् १९४८ को अल नक्बादेखि नै प्यालेस्टिनी जनता विरूद्ध अपराधको इतिहास रहेको उल्लेख गर्दै इजरायललाई ‘विश्वका प्रभुत्वशाली शक्तिशहरूको पुठ प्राप्त इजरायल दुष्ट राज्य बनेको’ दाबी गरिएको छ। “गाजाको वर्तमान संकट अतुलनी छ र गाजाभन्दा बाहिरका अन्य अतिक्रमित भूभागमा पनि प्यालेस्टिनी जनता पीडित छन्। यो संकटले लोकतन्त्र, मानवीय र अन्तर्राष्ट्रिय न्यायलाई चुनौती दिएको छ। यसले अतिक्रमित राज्यप्रति विश्व शक्तिहरूको पक्षपात पनि उजागर गरेको छ,” घोषणामा उल्लेख छ।
यो पक्षपातपूर्ण दृष्टिकोणकै कारण पश्चिमा सरकारहरूमात्र नभई मानव अधिकारकर्मी, अभियन्ता र बौद्धिकले समेत प्यालेस्टाइनीको दर्दनाक अवस्थालाई बेवास्ता गर्दै आफ्नो आदर्श त्यागेर इजरायलको अतिवादी सरकारको समर्थन गरेको घोषणामा दाबी गरिएको छ।
साथै प्यालेस्टिनी जनताले अहिले सामना गर्नुपरेको अन्याय उपनिवेशवाद र पूँजीवादको प्रतिबिम्ब भएको ठहर गरिएको छ। “प्यालेस्टिनी जनताले भोग रहेको अन्याय विश्वव्यापी अन्यायको एउटा लघु रूप हो जुन उपनिवेशवाद र पूँजीवादविरूद्धको फराकिलो संघर्षसँग गाँसिएको छ,” घोषणामा उल्लेख छ।
विश्व सामाजिक मञ्चको ‘अन्तर्राष्ट्रिय परिषद्’का सदस्यले शिघ्र युद्धविराम, नरसंहारको अन्त्य, पर्याप्त मानवीय सहयोग, वेस्ट ब्यांकमा अतिक्रमणकारी आक्रमणमा विराम, तेस्रो पक्षको हतियार पैठारीमा निषेध र प्यालेस्टिनीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता लगायतका माग गरेका छन्।
त्यस्तै मार्च १० देखि १२ सम्म ट्युनिशियामा हुने ‘मसरेक-मघरेब सामाजिक मञ्च’ प्यालेस्टाइनसँगको ऐक्यबद्धतामा विशेष सेसन आयोजना गर्न प्रस्ताव गरिएको छ। यसैगरी, १५ मे को अलनक्बा दिवसलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवसका रूपमा मनाउन आह्वान गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com