नेपाल इजरायल डट कम । बिहिबार , उत्तरी गाजा स्ट्रिपमा मानवीय सहायता वितरण गर्ने बेला ‘हिंसात्मक घटना’ घटेको भन्दै इजरायली डिफेन्स फोर्सले सूचना जारी गरेको छ। सो हिंसात्मक घटनामा प्यालेस्टिनीहरूले राहत सामाग्री र अन्य उपकरणहरू लुटेका थिए।
“प्यालेस्टिनीहरूलाई वितरण गरिएको राहत सामाग्री लिने क्रममा अत्याधिक भीड जम्मा भएको थियो । उपस्थित भीडमा ठेलमठेल र धक्कामुक्का हुँदा परिणामस्वरूप केही प्यालेस्टिनीहरू घाइते भएका थिए,” इजरायल सुरक्षा बलका एक प्रवक्ता भने ।
सैन्य प्रवक्ताले थप भने कि भीडमा अशांति भएपछि केही प्यालेस्टिनीहरूले इजरायली आर्मी भएको सुरक्षा क्षेत्रमा नारा लगाउदै प्रवेश गर्न थाले, जसले सैनिकहरूको सुरक्षा ‘खतरा’ मा परेको भन्दै , इजरायली आर्मीले गोली चलाएको थियो ।
विभिन्न पालेस्टिनी अफवाह तथा सामाजिक संजाल खाताहरूले मृत्यु भएको प्यालेस्टिनीहरुको संख्यालाई लिएर गलत प्रचार गरेका छन्।
घटनाको अनुसन्धान भइरहेको छ ।
अन्य समाचार माध्यमहरुमा यसरी समाचार प्रसारण भइरहेका छन
राहतको प्रतिक्षामा रहेका भोका गाजाबासीमाथि इजरायलको गोलीबारी, ११२ को मृत्यु, ७६० घाइते
इजरायली सेनाले खानाको पर्खाइमा रहेका भोका प्यालेस्टिनीहरुको नरसंहार गरेको छ। बिहीबार गाजामा भएको सो हत्याकाण्डमा कम्तीमा ११२ प्यालेस्टाइनी मारिएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन्।
खाना लिएर आएको ट्रकवरिपरि जम्मा भएका भोका प्यालेस्टिनीलाई लक्षित गरी इजरायली सेनाले गोली, तोप र ड्रोनमार्फत क्षेप्यास्त्र प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
घटनामा ७६० जना घाइते भएका छन्।
यो नृशंस हत्याकाण्डको विश्वभरिबाट भर्त्सना गरिएको छ। तर, इजरायली सेनाले भने भिडभाड, भागदौड र गाजाका ट्रक चालकहरुलाई दोष दिने प्रयास गरेको छ।
पछिबाट एक सैन्य प्रवक्ताले इजरायली सेनामाथि खतरा उत्पन्न गर्नेगरी भिड आफूतिर बढेपछि गोली चलाइएको स्विकारेका छन्।
फ्रान्स, स्पेन, पोर्चुगल, कतार, साउदी अरब, जोर्डन, इजिप्टले घटनाको निन्दा गरेका छन्।
अल्जेरियाको अगुवाइमा राष्ट्रसंघीय सुरक्षा परिषदले इजरायललाई दोष दिँदै निकाल्न खोजेको वक्तव्यलाई अमेरिकाले रोकिदिएको छ। एजेन्सी
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com