काठमाडौँ: हिमाली जिल्ला मुस्ताङमा रहेको युरेनियम भण्डारको उत्खनन र प्रशोधनको विषयलाई लिएर विभिन्न दाबीहरू सार्वजनिक भइरहँदा उत्तरी छिमेकी चीनको सक्रियता बढेको छ । मुस्ताङ लगायत हिमालय क्षेत्रमा रहेको युरेनियम उत्खननका लागि नेपाल सरकारले अमेरिकालाई अनुमति दिन लागेको चर्चाका बीच चिनियाँ दूतावासको टोली मुस्ताङ पुगेको हो ।
चिनियाँ टोलीको मुस्ताङ भ्रमण काठमाडौँस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सिलर झु फेङको नेतृत्वमा एउटा टोली शनिबार मुस्ताङ पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता तिवारीसँग भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको उक्त भेटलाई ‘सामान्य शिष्टाचार भेटघाट’ भनिएको भए पनि आइतबार उक्त टोलीले मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गरेको छ । मुस्ताङको लोमान्थाङ र मनाङ क्षेत्रमा चिनियाँ टोलीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकालाई युरेनियम दिने दाबीको खण्डन यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्चालमा नेपालले मुस्ताङको युरेनियम प्रशोधनका लागि अमेरिका र अष्ट्रेलियाको संयुक्त प्राविधिक टोलीलाई सुम्पने तयारी गरेको दाबी गरिएको थियो । अमेरिकाका विदेश राज्यमन्त्री समीर पल कपुरको नेपाल भ्रमणको समय पारेर आएका यस्ता खबरहरूले भ्रम सिर्जना गरेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन् ।
यसअघि भारतीय मिडियामा नेपालको युरेनियम अमेरिकालाई दिन लागिएको भन्दै सुरुमा समाचार छापिएको थियो । पछि नेपाली संचार माध्यमहरुमा सो सुचना तथ्यहीन र भ्रामक रहेको पुष्टि भएपछि भारतीय मिडियामा सोही समाचारको गलत भएको भन्दै खण्डन समेत छापिएको थियो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उदय बहादुर राणा मगरले यो खबरलाई पूर्णतः गुमराह गर्ने खालको भन्दै खण्डन गरेका छन् । उनका अनुसार मन्त्रालयले यस्तो किसिमको कुनै पनि सैद्धान्तिक सहमति दिएको छैन ।
प्रारम्भिक अध्ययन मात्रै भएको पुष्टि खानी तथा भूगर्भ विभागका प्रवक्ता गणेशनाथ त्रिपाठीका अनुसार मुस्ताङमा युरेनियमका बारेमा हालसम्म प्रारम्भिक अध्ययन मात्र भएको छ । विस्तृत अध्ययन (Detailed Study) बिना नै प्रशोधनको जिम्मेवारी कसैलाई दिने कुरामा कुनै सत्यता नरहेको उनले प्रष्ट पारेका छन् ।
यसअघि ‘मल्टीपोलर प्रेस’ जस्ता माध्यमले मुस्ताङको लोमान्थाङ क्षेत्रमा ३० वर्ग किलोमिटर क्षेत्रलाई ‘मुस्ताङ स्पेसल जोन’ घोषणा गरी ‘प्याक्स सिलिका’ (Pax Silica) गठबन्धन अन्तर्गत अमेरिका र अष्ट्रेलियालाई विशेष अधिकार दिन लागिएको दाबी गरेका थिए । तर, नेपाली अधिकारीहरूले यी सबै दाबीहरूलाई गलत र भ्रामक भनेका छन् ।
नेपालमा मुस्ताङ बाहेक मकवानपुर र सिन्धुलीमा पनि युरेनियमको सम्भावित भण्डार रहेको बताइन्छ । यद्यपि, हाल मुस्ताङलाई केन्द्रमा राखेर भइरहेका यस्ता प्रचार र वैदेशिक चासोले सामरिक महत्त्वको यस क्षेत्रमा भू-राजनीतिक प्रतिस्पर्धा बढ्ने संकेत गरेको छ ।

नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























