काठमाडौं, फागुन १ (फेब्रुअरी १३, २०२६) — नेपालस्थित इजरायली दूतावासले नेपाल–इजरायलबीचको श्रम सम्झौता र सहकार्यसम्बन्धी हालै स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति केही तथ्यगत त्रुटि देखिएको भन्दै औपचारिक स्पष्टिकरण सार्वजनिक गरेको छ। दूतावासले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा दुई देशबीचको श्रम सम्झौताको अवस्था, नयाँ प्रोटोकलहरू तथा “Learn and Earn” कार्यक्रमबारे अद्यावधिक जानकारी दिएको हो।
सन् २०२० को श्रम सम्झौता : निरन्तरता रहने व्यवस्था
विज्ञप्तिअनुसार नेपाल र इजरायल सरकारबीच श्रम सम्झौता ३० सेप्टेम्बर २०२० मा नै Jerusalem मा हस्ताक्षर भएको थियो (इजरायलमा नेपाली राजदूत डा. अन्जान शाक्य रहँदा ) । विस्तृत छलफलपछि सम्पन्न उक्त सम्झौता प्रारम्भमा तीन वर्षका लागि गरिएको भए पनि त्यसपछि प्रत्येक वर्ष स्वतः नवीकरण हुने प्रावधान सोही समयमा गरिएको थियो र त्यो अझसम्म कायम छ । दुवै पक्षमध्ये कुनै एकले सम्झौता अन्त्य गर्ने औपचारिक अनुरोध नगरेसम्म सम्झौता कायम रहने व्यवस्था रहेको दूतावासले स्पष्ट पारेको छ।
इजरायलमा कार्यरत नेपाली श्रमिकहरूको कार्यपरिस्थिति उत्कृष्ट रहेको दाबी गर्दै दूतावासले हाल हजारौं नेपाली श्रमिकहरू सन्तुष्टिपूर्वक इजरायलमा कार्यरत रहेको व्यहोरा आफ्नो विज्ञप्तिमा जनाएको छ ।
वृद्धाश्रम हेरचाह (Caregiving) प्रोटोकल
सम्झौताअन्तर्गत पहिलो प्रोटोकल “Caregiving in Geriatric Institutions” स्थापना गरिएको थियो। यसले नेपालको Department of Foreign Employment (DOFE) र इजरायलको Population and Immigration Authority (PIBA) बीच समन्वय गरी नेपाली श्रमिकहरूको भर्ना र रोजगारी व्यवस्थापन नियमन गर्दछ ।
यसै प्रोटोकलमार्फत हजारौं नेपाली श्रमिकहरू इजरायल पुगेका छन्। हाल इजरायलले सोही प्रोटोकलअन्तर्गत नयाँ समूहका नेपाली श्रमिक भर्ना गर्ने प्रस्ताव गरेको र यसबारे दुई देशबीच वार्ता जारी रहेको दूतावासले आफ्नो विज्ञप्तिमा जनाएको छ।
नयाँ दुई प्रोटोकल : गृहआधारित हेरचाह र कृषि श्रमिक सम्बन्धमा
गत वर्षको सुरुवातमा दूतावासले नेपाल सरकारसमक्ष थप दुईवटा मस्यौदा प्रोटोकल पेश गरेको थियोः
Home-based caregiving (गृहआधारित हेरचाह)
Agricultural workers (कृषि श्रमिक, विद्यार्थी होइन)
इजरायलमा श्रमिकको माग अत्यधिक रहने प्रक्षेपण गरिएको छ। हालै नेपाल सरकारको अन्तरिम मन्त्रिपरिषद्ले केही परिमार्जनसहित ती दुई प्रोटोकल अनुमोदन गरेको दूतावासले जनाएको छ। तर नेपाल सरकारले अनुमोदन गरेको प्रस्ताव मूल मस्यौदा (इजरायली दूतावासले सुरुमा पेश गरेको मस्यौदा) भन्दा फरक भएकाले इजरायल पक्षले आन्तरिक समीक्षा गरिरहेको र अन्तिम स्वीकृतिपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने स्पष्ट पारिएको छ।
“Learn and Earn” कार्यक्रम अन्योलमा
“Learn and Earn” कार्यक्रम अन्तर्गत कृषि विषयका तेस्रो वर्षका विद्यार्थीहरूलाई इजरायलका शैक्षिक कृषि संस्थानहरूमा व्यवहारिक अनुभव (hands-on training) लिने अवसर दिइँदै आएकोमा तर, नेपालका पूर्व साझेदार विश्वविद्यालयहरूले आफ्ना कृषि विद्यार्थीलाई कार्यक्रममा पुनः सहभागी गराउन उत्साह नदेखाएकाले कार्यक्रमको निरन्तरतामा चुनौती देखिएको दूतावासले जनाएको छ। यस सन्दर्भमा दूतावासले नेपालका वैकल्पिक विश्वविद्यालय तथा कलेजहरूसँग सहकार्यको प्रयास गरिरहेको पनि उल्लेख गरेको छ।
दूतावासले शिक्षा, कृषि, रोजगारी तथा अन्य विविध क्षेत्रमा नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ। साथै, दुई देशबीचको बलियो सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरिएको छ ।
हाल सार्वजनिक भइरहेका एकोहोरो र अपुष्ट समाचारप्रति सचेत रहन आग्रह गर्दै दूतावासले आधिकारिक जानकारीका लागि दूतावासका औपचारिक सूचनाहरूमा मात्र भर पर्न अनुरोध गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























