नेपाल इजरायल डट कम /
इजरायल र हमासबिचमा जारी दुई बर्षे रक्तपातपूर्ण युद्धको समाप्ति भयो । जब इजरायल र हमासबीचको लामो युद्ध विरामपछि बन्धकहरूलाई मुक्त गर्ने क्रम सुरु भयो, इजरायलभरि पुनर्मिलनको क्षणले खुसीयालीको उज्यालो छायो। बन्धक बनेका आफ्ना नागरिकहरू घर फर्किँदाको त्यो दृश्यले नेपालको कुनाकाप्चासम्म पनि यस्तै खुसीको लहर आइपुग्ने अपेक्षा गरिएको थियो।
तर, नियतिको खेल कति कठोर! भीमदत्त नगरपालिका–३, भाँसीस्थित विपिन जोशीको परिवारका लागि सोमबारको बिहान आशाको त्यान्द्रो चँुडिएको खबर लिएर आयो। हमासले रिहाइ गरेका २० जना जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम थिएन। परिवारका एक्ला छोरा, जसको प्रतीक्षामा दुई वर्षदेखि आमा पद्मा र बहिनी पुष्पा (जो अमेरिकामा छन्) ले बाटो कुरिरहेका थिए, उनको यो तिहारमा घर फर्किने सपना सदाका लागि बिलायो।
केही महिना अगाडी आमा र बहिनी विपिन जोशीलाई खोज्दै इजरायल आइपुगेका थिए । दाजू तिमी कहाँ छौं ? भन्दै गरेको बहिनी पुष्पा जोशीको पीडादायी आर्तनादले तेल अभिभ होस्टेज स्क्वायरको प्रांगण र सिंगो इजरायल उनीसंगै रोएको थियो ।
विपिनको गाथा केवल एक बन्धकको पीडामा मात्र सीमित छैन; यो त विदेशी भूमिमा प्रदर्शित अनुपम शौर्य र त्यागको एक मार्मिक दस्तावेज पनि हो। विपिन, जो ‘सिक्दै कमाउँदै’ (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर कृषि क्याम्पसका विद्यार्थीका रूपमा कृषि इण्टर्न्शीपका लागि इजरायल पुगेका थिए, उनी वि.सं. २०८० असोज २० गते शनिबार (अक्टोबर ७, २०२३) मा भएको हमासको भयानक आक्रमणको चपेटामा परे।
दक्षिणी इजरायलको किबुज क्षेत्र, जहाँ कृषि प्रशिक्षार्थीहरूलाई एकै ठाउँमा राखिन्थ्यो, अचानक आतंकको भूमि बन्यो। सीमा नाघेर बन्दुक र बम बोकेका हमासका लडाकुहरू किबुज क्षेत्रमा प्रवेश गरेपछि ‘अलर्ट साइरन’ बज्यो र १७ नेपाली विद्यार्थी बंकरभित्र लुक्न बाध्य भए।
मृत्यु र जीवनको त्यो नाजुक मोडमा, जहाँ बाहिर गोलीबारी चलिरहेको थियो, आतंकवादीहरूले बंकरभित्र दुईवटा ग्रिनेड फाले। सो घटनाका प्रत्यक्षदर्शीको भनाइ अनुसार, विपिनले एउटा ग्रिनेड टिपेर बंकर बाहिर फालिदिए। आफ्नो जीवन दाउमा लगाएर उनी साथीहरूको जीवन जोगाउन सफल भए, तर दुर्भाग्यवश उनी स्वयं हमासद्वारा बन्धक बनाइए। त्यस आक्रमणमा नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम भण्डारी र प्रवेश भण्डारी गरी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।
मृत्युको औपचारिक पुष्टि र पीडाको गह्रुँगो बोझ
दुई वर्षसम्म विपिनको अवस्था अज्ञात रह्यो। परिवार र नेपाल सरकारले उनको रिहाइका लागि विभिन्न सूत्रमार्फत अथक पहलहरू गर्यो। नेपालका परराष्ट्र मन्त्रीहरूले यसै विषयलाई लिएर पटकपटक विदेश भ्रमण गरे। बीचमा इजरायली सेनाले उनी जीवित रहेको कुनै प्रमाण नभेटिएको जानकारी परिवार र दूतावासलाई गराएको थियो, तर परराष्ट्र मन्त्रालयले उनको अवस्था अझै अज्ञात रहेको जनाइरहेको थियो।
अन्ततः, हमासले विपिन जोशीको मृत्यु भएको दुःखद पुष्टि गर्यो। हमासले उनी आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकहरूलाई बुझाइसकेपछि बाँकी मृत बन्धकहरूको शव पनि फिर्ता गरिने जनाएको थियो। हमासको सैन्य एकाइलाई उद्धृत गर्दै, सोमबार अबेर विपिनसहित चार बन्धकको शव हस्तान्तरण गरिने जानकारी आयो। इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, हस्तान्तरण गर्न लागिएका शवहरूमध्ये एक विपिन जोशीको पनि हुन सक्ने जानकारी इजरायली सेनाले संकेत गरेको थियो।
विपिनको नाम मृत बन्धकको सूचीमा उल्लेख भएपछि, इजरायली सेनाले रेडक्रसको टोली विपिनसहित चार जनाको शव लिन गाजा गयो ।हमासले औपचारिक रूपमा विपिनसँगै गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जको शव इजरायललाई हस्तान्तरण गर्यो।
यो खबरले विपिनको परिवारमा गहिरो पीडा थपिदिएको छ। इजरायल र संसारभरीका नेपालीहरु विपिन जोशी एकदिन हमासको बन्धनबाट सकुशल घर फर्कने आशा र विश्वासमा प्रतिक्षारत थिए । विशेषगरी इजरायलमा बन्धक रिहाइका लागि गरिने दबाबमूलक र्याली र प्रदर्शनहरुमा चन्द्रसूर्य अंकित झण्डासहित विपिन जोशीलाई घर फ़र्काइदेउ लेखिएका प्लेकार्डहरु बोकेर धेरै नेपालीहरुले धर्ना र जुलुसहरुमा सहभागी हुन्थे । उनीहरु प्रार्थना गर्थे, बत्ति बाल्थे, सिर्जनात्मक सामाग्री बनाउथे, लेख्थे, चिच्याउथे कराउथे … जसले जसरी सकिन्छ त्यसरी हरेक स्तरबाट दबाब दिदै आएका थिए ।आज सबैका आँखामा आँसु टिलपिलाएका छन । विपिन जोशीको निधनको खबर संगै एउटा परदेशी सपनाको अवसान भएको छ ।
विदेशी युद्धभूमिमा एउटा नौजवान नेपाली युवाको यसरी दुःखद अन्त्य हुनु, नेपालका लागि शोकको अर्को गह्रुँगो बोझ हो। विपिन जोशीले आफ्नो बलिदानीपूर्ण कार्यमार्फत मित्रता र मानवताको जुन ज्योति बाले, त्यो सधैँ स्मरणीय रहनेछ; तर उनको मृत्युको खबरले नेपालीको मनमा गढेको पीडाको घाउ भने निकै गहिरो भएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























