नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने क्रममा र मन्त्री छनौट गर्नेक्रममा अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।
त्यस्तै प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ ।
त्यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्। उनीहरुको शपथ भने भोलि हुनेछ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरी प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























