काठमाडौं, साउन २३ — विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग गम्भीर पहल गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यसहित औपचारिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका छन्।
बैठकमा थप निर्णयहरू पनि गरिएका छन्। पार्टी सभापति रवि लामिछानेविरुद्ध देखिएको राजनीतिक प्रतिशोधको विरोधमा सञ्चालन गरिएको जनस्तरको हस्ताक्षर अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने निर्णय गरिएको छ। सो अभियानलाई पार्टी संगठन विस्तारसँगै देशव्यापी रूपमा सशक्त रुपमा अघि बढाइने प्रवक्ता झाले बताए।
त्यसैगरी, हज समितिको अध्यक्षमा नियुक्त भएपछि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका संस्थापक सदस्य इश्रामुल्ला मियालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारीमा पुनर्नियुक्त गर्ने निर्णय गरिएको छ।
पार्टीको सांगठनिक सुदृढीकरण र दीर्घकालीन रणनीति निर्माणका लागि विभिन्न रणनीतिक समूह गठन गर्ने निर्णयसमेत बैठकमा गरिएको छ। साथै, पार्टी संगठनलाई वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्म थप बलियो र समन्वित बनाउने उद्देश्यले केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू तथा विभागीय सदस्यहरूलाई विभिन्न जिल्लाहरूमा परिचालन गरिने निर्णय समेत गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com