काठमाडौं, साउन २० — नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्ने विषयमा नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले दुई वर्षअघि हमासद्वारा अपहरणमा परेका जोशीको अवस्थाबारे अझै पनि कुनै ठोस जानकारी नआएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
“हाम्रा नेपाली युवा विपिन जोशी सन् २०२३ अक्टोबरमा हमासद्वारा कब्जा गरिएर बन्धक बनाइएका थिए। आज दुई वर्ष पुग्न लाग्दासमेत उहाँको अवस्था के छ भन्ने यकिन छैन,” भट्टराईले भने, “मैले नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु — जोशीको रिहाइका लागि अझ प्रभावकारी कूटनीतिक पहल गरियोस्।”
सांसद भट्टराईले नेपालको परराष्ट्र नीति सन्तुलित र मित्रवत रहेको स्मरण गराउँदै कुनै पनि राष्ट्रलाई शत्रु नठान्ने परम्परा रहेको उल्लेख गरे। उनले नेपाली सेना वा नागरिक अन्य राष्ट्रको युद्धमा प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारे।
“हामी विश्वशान्तिको पक्षमा छौं, तर यस्तो अवस्थामा समेत नेपाली नागरिकहरू विदेशमा बन्धक बन्नु दुःखद पक्ष हो,” उनले भने।
भट्टराईको यो वक्तव्य हाल इजरायल–प्यालेस्टाइन द्वन्द्वको सन्दर्भमा अझै संवेदनशील बनेको विपिन जोशीको विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा गम्भीरता थप्ने संकेत देखिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com