गाजामा जारी युद्धविराम स्थापनाको प्रयासलाई ठूलो झट्का लागेको छ, किनभने हमासले आफू वार्ताबाट पूर्ण रूपमा अलगिएको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, हमासले पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने स्पष्ट अडान लिएको छ ।
हाल गाजामा खाद्य संकट चरम अवस्थामा पुगेको छ। भोकमरीको चपेटामा परेका सर्वसाधारणहरू सहायता केन्द्रहरूमा पुग्दा इजरायली सुरक्षाफौजको गोलीबारीमा पर्नु परिरहेको घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्तै त्रासदपूर्ण अवस्थाबीच हमासले वार्ता प्रक्रियाबाट टाढिने निर्णय लिएको हो ।
यसैबीच, अमेरिका र इजरायलले हमासमाथि ‘खराब नियत’ राखेर वार्तामा संलग्न भएको आरोप लगाउँदै वार्ताबाट आफ्ना प्रतिनिधिमण्डलहरू फिर्ता बोलाएका छन्। यसले द्वन्द्व समाधानका कूटनीतिक प्रयासहरू थप जटिल बन्दै गएको संकेत गरेको छ ।
गाजा युद्धविरामका लागि पछिल्ला महिनाहरूदेखि कयौं चरणमा वार्ता हुँदै आए पनि स्थायी समाधानको कुनै सुनिश्चित बाटो फेला परेको छैन। मानवीय संकट गहिरिँदै गएको अवस्थामा वार्ता प्रक्रिया पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा अझै अनिश्चितता छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com