प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरका युवा विपिन जोशीको रिहाइका लागि इजिप्टसँग निरन्तर पहल गर्न आग्रह गरेका छन्। हमासका हातमा अपहरण भएका विपिनको उद्धारको लागि भइरहेको प्रयासमा इजिप्टले देखाएको सहयोगप्रति प्रधानमन्त्री ओलीले गहिरो कृतज्ञता व्यक्त गर्दै, यसलाई अझ सशक्त बनाइरहन माग गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँग भेटघाट गरेका कुराको जानकारी गराउँदै भने, “हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिन्छु र आगामी दिनमा पनि निरन्तर पहल गर्न अनुरोध गरेको छु।”
उनले थपे, “इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हामीले दुई देशबीचको हित र चासोका विविध विषयहरूमा गहन छलफल गरेका छौं, जसले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु।”
यो पहलले विपिन जोशीको सुरक्षित र छिटो रिहाइको आशा जगाएको छ, साथै नेपाल र इजिप्टबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकेत पनि भएको छ।
सुदुर पश्चिम विश्वविद्यालयबाट इन्टर्नशीपका लागि ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत कृषिमा काम गर्न आएका नेपाली विद्यार्थी विपिन जोशी इजरायलको किबुच अलुमिममा कार्यरत थिए ।
इजरायल आएको एक महिनापनि नपुग्दै उनलाई २०२३ अक्टोबर ७ का दिन २५० जना इजरायली र विदेशी नागरिकहरुसँगै बन्दी बनाएर प्यालेस्टिनी अतिवादी समूह हमासले गाजातर्फ लगेको थियो ।
इजरायलमा सिम्खात तोराह नामक चाड मनाइरहेको बेला भएको आतंकवादी हमलामा हमासले १२०० भन्दा बढीको हत्या गरेको थियो भने नेपालका १० जना नागरिकको पनि हत्या गरिदिएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com