काठमाडौँ, असार ५ — युद्धग्रस्त इजरायलमा कार्यक्रम सहभागी हुन पुगेका बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संकटमा फसेपछि हाल भारतको मुम्बई आइपुगेका छन्। उनी आजै साँझसम्म गृहसहर बिराटनगर फर्किने तयारीमा छन्।
मेयर कोइराला गत जेठ २६ गतेदेखि असार ५ गतेसम्मको एक आधिकारिक कार्यक्रममा सहभागी हुन इजरायल गएका थिए। तर इरान–इजरायल युद्ध चर्किएपछि इजरायलले संकटकाल घोषणा गर्दै विमानस्थलहरू बन्द गर्यो। यसले गर्दा उनी पनि इजरायलमै फँसेका थिए।
संकटपूर्ण अवस्थाबीच ज्यान जोगाउन कोइरालालाई बंकरभित्र बस्नुपर्ने अवस्था आयो। त्यसपछि उनले स्थलमार्ग हुँदै जोर्डनको बाटो समातेर सकुशल उद्धार प्रक्रिया अगाडि बढाए।
कोइरालाले आज बिहान फेसबुकमार्फत एक पोस्ट सन्देश लेखेर आफ्नो यात्रा विवरण सार्वजनिक गरेका छन्। उनले लेखेका छन् :
“सबै विमानस्थल बन्द भएपछि म स्थलमार्ग हुँदै जोर्डन पुगें। त्यहाँबाट हवाईमार्गमार्फत कुवेत, त्यसपछि भारतको मुम्बई हुँदै नयाँदिल्ली आइपुग्ने छु। अहिले म मुम्बई आइपुगेको छु। म बेलुकी ४:३० बजे काठमाडौं विमानस्थलमा अवतरण गर्दै आजै साँझ बिराटनगर फर्किने योजना बनाउँदैछु।”
इजरायलमा जारी युद्धको जोखिमपूर्ण परिस्थितिमा नेपाली नागरिकको सुरक्षाका लागि सरकार र सम्बन्धित निकायहरूद्वारा चासो र पहल जारी छ। मेयर कोइरालाको सकुशल उद्धारले धेरैलाई राहत मिलेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com