काठमाडौं — अमेरिकाले प्रस्ताव गरेको नयाँ युद्धविराम योजनासम्बन्धी मस्यौदामा हमासले आंशिक सहमति जनाएको छ। समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृतकको शव इजरायललाई बुझाउन तयार रहेको जनाएको छ। यद्यपि, त्यस सन्दर्भमा केही प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिवार्य हुने सर्त पनि राखिएको छ। साथै, हमासले अमेरिकी प्रस्तावमा केही संशोधन गर्नुपर्ने माग दोहोर्याएको छ।
हमासले ‘स्थायी युद्धविराम’, गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती, र मानवीय सहायताको निरन्तर आपूर्तिको सुनिश्चिततालाई आफ्नो प्राथमिक मागका रूपमा पुनः दोहोर्याएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफद्वारा तयार गरिएको मस्यौदामा आफूहरूले आधिकारिक प्रतिक्रिया पठाइसकेको हमासले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयबाट जारी विज्ञप्तिअनुसार, इजरायलले विट्कोफको अद्यावधिक खाका स्वीकार गरिसकेको छ, तर हमास भने अझै पनि आफ्नो पुरानै अडानमा कायम रहेको उल्लेख गरिएको छ।
अमेरिका, बेलायत, र युरोपेली संघले प्रतिबन्धित आतङ्कवादी समूहको सूचीमा राखेको हमासले ‘स्थायी युद्धविराम’ र गाजाबाट इजरायली सेनाको ‘पूर्ण फिर्ती’मा विशेष जोड दिएको छ।
हालसम्म अमेरिकाको प्रस्तावित युद्धविराम योजनाको सम्पूर्ण विवरण सार्वजनिक गरिएको छैन, र त्यसबारे अझै औपचारिक पुष्टि हुन बाँकी छ।
शनिबार, हमास-शासित गाजा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा इजरायली आक्रमणका कारण कम्तीमा ६० जनाको ज्यान गएको र २८४ जना घाइते भएका छन्।