दुबई — संयुक्त अरब इमिरेट्स (युएई) ले इजरायलसँग गाजा पट्टीमा अत्यावश्यक मानवीय सहायता पुर्याउने सहमति गरेको छ। बुधबार इमिराती सरकारी सञ्चार माध्यम डब्लुएएमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, यो सम्झौता युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद र इजरायली विदेशमन्त्री गिडियन सारबीच भएको फोन वार्ताबाट भएको हो।
इजरायलमाथि गाजामा भइरहेको सैन्य आक्रमण रोक्न र मानवीय सहायता पु-याउन अन्तर्राष्ट्रिय स्तरमा चर्को दबाब बढिरहेको छ। गाजा क्षेत्रमा इजरायली नाकाबन्दीका कारण खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्रीको अभाव गहिरिंदै गएको छ।
मंगलबार इजरायलले ९३ वटा सहायता ट्रक गाजामा प्रवेश गराएको जनाएको भए पनि संयुक्त राष्ट्रसंघले ती सहायता रोकिने अवस्था रहेको जानकारी दिएको थियो।
सम्झौता अनुसार, प्रारम्भिक चरणमा युएईको सहायताले गाजा पट्टीका करिब १५ हजार नागरिकलाई खाद्यान्न आपूर्ति गरिनेछ। साथै, बेकरी सञ्चालनका लागि आवश्यक सामग्री, शिशु हेरचाहका वस्तुहरू र अन्य अत्यावश्यक सामाग्रीसमेत प्रदान गरिनेछ। सहायता वितरण निरन्तर हुने गरी योजना बनाइएको बताइएको छ।
तर युएईको सहायता कहिले गाजामा पठाइने र कहिले वितरण गरिने भन्ने विषयमा भने अझै स्पष्ट विवरण आएको छैन।
विज्ञप्तिमा थप उल्लेख भएअनुसार, दुबै देशले मानवीय युद्धविराम पुनः सुरु गर्ने, युद्धविराम स्थापनाका लागि पहल गर्ने र बन्धकहरूको रिहाइका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रयासहरूबारे पनि छलफल गरेका छन्।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सीमित सहायता पुर्याउने अनुमति दिन आफ्नो सरकार तयार रहेको बताएका थिए। उनले “व्यावहारिक र कूटनीतिक कारणहरू” का लागि केही राहत सामग्री गाजामा प्रवेश आवश्यक भएको बताएका थिए।