काठमाडौं । माइक्रोसफ्टले सन् २००० को दशकमा सुरु भएको इन्टरनेटमा आधारित फोन र भिडिओ कलिङ सेवा स्काइप बन्द गर्ने भएको छ । कम्पनीले मे महिनादेखि सधैँका लागि यो एप बन्द गर्ने घोषणा सामाजिक सञ्जाल मार्फत गरेको हो ।
एप बन्द भए पनि स्काइपको लगइन जानकारी भने प्रयोगकर्ताहरूले अब माइक्रोसफ्ट टिम्सको निःशुल्क संस्करणमा प्रयोग गर्न सक्नेछन् । त्यसबाट पुरानो च्याट र अन्य जानकारी पाउन सकिनेछ । कम्पनीले एक ब्लगमा स्काइप माइक्रोसफ्ट टिम्समा परिणत भएको भएको जानकारी दिएको छ ।माइक्रोसफ्टले स्काइपलाई साढे आठ अर्ब डलरमा खरिद गरेको १४ वर्षपछि यो सेवा बन्द गर्न लागेको हो । त्यस समयमा यो माइक्रोसफ्टको सबैभन्दा ठुलो अधिग्रहण थियो । माइक्रोसफ्टले स्काइपलाई अफिस र विन्डोज फोनजस्ता अन्य प्रोडक्टमा पनि इन्टिग्रेट गरेको थियो ।
पछिल्ला वर्षहरूमा स्काइपको लोकप्रियता घट्दै गएको थियो । यता कोभिड-१९ महामारीको समयमा जुम, गुगल मिट र सिस्को वेबएक्स जस्ता प्रतिस्पर्धी प्लेटफर्मको प्रयोग भने बढेको थियो । एप्पलको फेसटाइम र मेटाको ह्वाट्सएप जस्ता एपबाट पनि स्काइपले कडा प्रतिस्पर्धाको सामना गरिरहेको थियो । माइक्रोसफ्टले टिम्समा धेरै लगानी गरेको छ, जसले स्काइपले दिने जस्तै सेवाहरू दिने गर्छ । सबै सेवा टिम्सबाटै दिने भएपछि छुट्टै स्काइपको आवश्यकता नभइको महसुस गर्दै कम्पनीले यसलाई सधैंका लागि बन्द गर्न लागेको जनाएको छ ।
सन् २००३ मा इस्टोनियामा स्काइपको सुरुवात भएको थियो । यसले संसारभरि निःशुल्क कल गर्ने सुविधा दिएको थियो, जुन परम्परागत फोनबाट अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने महँगो शुल्कको तुलनामा धेरै नै आकर्षक थियो । यो सेवा चाँडै लोकप्रिय भयो र सन् २००५ मा ईबेले २.६ अर्ब डलरमा खरिद गर्यो । तर, यो साझेदारी सफल हुन सकेन र ईबेले २००९ मा स्काइपको ६५ प्रतिशत शेयर १.९ अर्ब डलरमा लगानीकर्ता समूहलाई बेच्यो । त्यसपछि माइक्रोसफ्टले २०११ मा स्काइप किनेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com