काठमाडौं – दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित वूसङ्ग पिग फार्म मा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएपछि प्रवासी नेपाली श्रमिकहरूको सुरक्षाबारे पुनः बहस सुरु भएको छ।
म्याग्दी निवासी २८ वर्षीय तुलसी पुन मगर शनिबार मृत अवस्थामा फेला परेका थिए। सोलस्थित नेपाली राजदूतावासका अनुसार कोरियाली प्रहरीले घटनालाई ‘आत्महत्या’ का रूपमा लिएको छ।
मृत्युपछि सो फार्ममा कार्यरत अन्य नेपाली श्रमिकहरूले कठिन कार्यस्थितिका कारण त्यहाँ काम गर्न नसक्ने बताउँदै असन्तुष्टि जनाएका थिए। नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे का अनुसार श्रमिकहरूको मागलाई ध्यानमा राख्दै रोजगारदाता कम्पनीले चरणबद्ध रूपमा कामदारहरूलाई अन्यत्र जान दिन सहमति जनाएको छ।
“कामदारहरूको असन्तुष्टिलाई मध्यनजर गर्दै फार्मका मालिकले दुई साताभित्र सबै नेपाली श्रमिकलाई कम्पनी छोड्न अनुमति दिने सहमति जनाएका छन्,” राजदूत तुम्बाहाम्फेले बताइन्।
यसबीचमा तीन जना नेपाली श्रमिकहरू ‘रिलीज लेटर’ लिई कम्पनीबाट बाहिरिसकेको दूतावासले जनाएको छ। घटनाको विस्तृत अध्ययन गर्न श्रम काउन्सिलर मैया कँडेल नेतृत्वको टोलीलाई घटनास्थलमा पठाइएको थियो। उक्त टोलीले पीडित श्रमिकका सहकर्मी, कम्पनी व्यवस्थापक तथा मालिकसँग छलफल गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिनुपर्ने मागसमेत उठ्न थालेको छ। मृतकको पार्थिव शरीर शुक्रबार नेपाल पठाइने तयारी भइरहेको दूतावासले जनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com