काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रमुख सल्लाहकार रहेका टेस्ला मालिक खर्बपति एलन मस्क फेरि अर्को विवादमा तानिएका छन्।
सामान्य चर्चामा रहेको यो विषय सर्वोच्च अदालतसम्म पुगेका कारण मस्क नयाँ लफडामा पर्न सक्ने आँकलन गरिएको छ।
सेलिब्रेटी एश्ले सेन्ट क्लेयरले आफ्नो एक बच्चाको पिता एलन मस्क भएको भन्दै अमेरिकाको म्यानहटन सर्वोच्च अदालतमा एक निवेदन दर्ता गराएकी छिन्।
आफ्नो ५ महिने बच्चाको पिता एलन मस्क भएको उनको दाबी छ। साथै उनले अदालतसँग बच्चाको पूर्ण संरक्षकत्वका साथै एलन मस्कको पितृत्व परीक्षणको आदेश दिन पनि माग गरेकी छिन्।
न्युयोर्क पोस्टका अनुसार अदालतमा क्लेयरले पेस गरेका दस्तावेजमा मस्कको एउटा तस्वीर संलग्न छ, जसमा उनी एक नवजात बच्चालाई काखमा लिएको देखिन्छ।
यसका अलावा मस्क र क्लेयरको बीचमा भएका भनिएका च्याट सम्वादहरु पनि अदालतमा पेस गरिएको छ, जसमा बच्चा जन्मिएपश्चात् मस्कले सबै कुरा ठीक छ नि? भनेर क्लेयरलाई सोधेको कुरा पनि रहेको छ।
साथै एउटा अर्को च्याटमा मस्कले आफू आमा(क्लेयर) र बच्चालाई छिट्टै हेर्नका लागि आतूर रहेको बताएका छन्।
तर, मस्कले केवल तीन पटक मात्रै बच्चालाई हेरेको र त्यस बाहेक बच्चाका बारेमा कुनै परवाह नै नगरेको आरोप क्लेयरले लगाएकी छिन्।
बच्चाको जन्म प्रमाणपत्रमा सुरक्षाका कारणले गर्दा पिताको नाम खाली छाडिएको दाबी उनको छ। आफूलाई दिनहुँ ज्यानमार्ने धम्की आउने गरेको भनेर मस्कले बताउने गरेका कारण आफ्नो बच्चाको पिताको नाम प्रमाणपत्रमा नलेखिएको उनको जिकिर छ।
एलन मस्कका यसअघि नै १२ जना बच्चा छन्। उनकी पूर्वपत्नी जस्टिन विल्सनबाट पाँचवटा बच्चा छन्, जसमध्ये दुईजना जुम्ल्याहा र तीनजना तिम्ल्याहा रहेका छन्। त्यसैगरी गायिका ग्रिम्सबाट उनका ३ जना बच्चा छन् भने क्यानेडाली भेन्चर पुँजीपति शिवोन जिलिससँग पनि उनका तीनजना बच्चा रहेका छन्। उनीहरुमध्ये दुईजनाको नाम सार्वजनिक भैसकेको छ भने एकजनाको गोप्य राखिएको छ।
अब सेलिब्रेटी युवती एश्ले सेन्ट क्लेयरले आफ्नो बच्चाको पितृत्व प्रमाणीकरणका लागि अदालतमा मुद्दा हालेसँगै मस्कका लागि अर्को टाउको दुखाइको विषय बनेको छ। यो १३औं बच्चाका विषयमा आएको नयाँ विवाद हो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com