नेपाल इजरायल डट कम, जेरुसेलम – इजरायलका लागि नेपालका राजदूत महामहिम प्रा. धन प्रसाद पण्डितद्वारा जेरुसेलमस्थित राष्ट्रपति निवासमा आयोजित एक औपचारिक समारोहमा इजराइलका राष्ट्रपति इज्याक हर्जोग समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्नु भयो ।
उहाँहरुले सो अवसरमा आपसी सम्मान र एकता दर्शाउँदै दुई देशको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। राजदूत पण्डितले नेपालको इजरायलसँगको द्विपक्षीय मित्रवत् कूटनीतिक सहकार्य र सम्बन्धलाई थप सशक्त बनाउनको लागि नेपाल सरकार र आफ्नो प्रतिबद्धतालाई जोड दिनुभयो।
त्यसै क्रममा, राजदूत पण्डितले नेपालका विद्यार्थी विपिन जोशीको मुद्दा उठाउनुभयो, जसलाई ७ अक्टोबरमा हमास समुहले किबुत्ज अलुमिमबाट अपहरण गरी गाजा क्षेत्रको अनिश्चित स्थानमा ४६७ दिनदेखि बन्धक बनाइराखेको छ ।
इजरायल अहिले कतारमा मध्यस्थहरूको माध्यमबाट हमाससँग युद्धविरामका लागि वार्ता गरिरहेको छ । हमाससँग पहिलो चरणको सहमति अनुसार महिला वालवालिका र वृद्ध वृद्धाहरु रिहाइ हुने समाचार आएका छन । नेपाल सरकार इजरायलका अधिकारीहरूसँग र अन्तर्राष्ट्रिय निकायहरूसँग निरन्तर सम्पर्कमा रही विपिन जोशीको सुरक्षित मुक्तिको लागि सबै कूटनीतिक उपायहरू अवलम्बन गरिरहेको छ।
राष्ट्रपतिसँगको भेटमा, राजदूत पण्डितले अपहरित नेपाली विद्यार्थी विपिन जोशीको गम्भीर चिन्ता व्यक्त गर्दै, राष्ट्रपति हर्जोगलाई “आफुले आफ्ना नागरिकको जीवनरक्षा र सुरक्षित रिहाइको लागि हरेक सम्भावित ढोकाहरु ढकढकाउने बताउनु भयो । उहाँले नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल सरकारको निरन्तर प्रतिबद्धता र प्रयासलाई दोहोर्याउनुभयो।
राष्ट्रपति हर्जोगले बैठकमा व्यक्त गर्नुभएको विचारमा सबै बन्धकहरूको सुरक्षित रिहाइको लागि इजराइलको प्रतिबद्धता पुनः पुष्टि गर्दै भन्नुभयो, “हामी नेपालका विद्यार्थी विपिन जोशीको जीवनको गम्भीर चिन्ता साझा गर्छौं र हामी आशा र प्रार्थना गर्दछौं कि विपिन लगायत सबै बन्धकहरू चाँडै र सुरक्षित घर फर्कनेछन्।”
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com