काठमाडौं । दुई किशोरीले आत्महत्या गरेपछि फ्रान्सका सात परिवारले सामाजिक सञ्जाल टिकटक विरुद्ध एकैचोटि मुद्दा दायर गरेका छन् । आत्महत्याको कारण टिकटक रहेको आरोप लगाउँदै उनीहरूले पेरिसको क्रेटेल न्यायिक अदालतमा मुद्दा दायर गरेका हुन् ।
टिकटकमाथि सामूहिक मुद्दा दायर भएको यो युरोपकै पहिलो घटना हो । समाचार संस्था एएपीका अनुसार आत्महत्या गरेका दुवै किशोरीहरू १५ वर्षका थिए ।
टिकटकको एग्लोरिदमले आत्महत्या, आफैंलाई हानि पुर्याउने व्यवहार, खानपिन सम्बन्धी विकार लगायतका भिडिओ देखाउँदा आफ्ना छोरीहरूले त्यस्तो कदम चालेको किशोरीका अभिभावकहरूले आरोप लगाएका छन् ।
पछिल्लो समय फेसबुक, इन्स्टाग्राम जस्तै टिकटकका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परेको आरोप लाग्दै आएको छ । टिकटकले भने यी आरोपलाई गलत र भ्रामक भन्ने गरेको छ । साथै कम्पनीले बालबालिकाको मानसिक स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपायहरूमा लगानी गरेको जनाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com