विश्वव्यापी दबाब र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगस्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
हमास प्रमुख इस्माइल हानियाको मृत्यु पश्चात हमासले इजरायल आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेको छ । सिनवार नेतृत्वमा आएपछि वार्ताको घोषणा भएको हो । २२ बर्ष इजरायलको कारागारमा बिताएका सिन्वार इस्माइल हानिया भन्दा कट्टर रहेको विश्वास गरिन्छ ।
यद्यपी मध्य पूर्वमा बढ्न सक्ने क्षत्रिय युद्धको खतरा र बिकसित परिस्थितिका कारण हमास र इजरायल दुवैले लचकता अपनाउन सक्ने पनि एकथरी विश्लेशकहरुको मत छ ।
नोभेम्बरमा एक हप्ता लामो युद्धविराम भएको थियो । त्यसपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि अर्को युद्धविरामको प्रयास गरेका छन् ।
बिहीवार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।
मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् ।
नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ ।
गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने विषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ ।
यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ । जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com