शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन्। मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्द गरेको मिडिया रिपोर्टमा दाबी गरिएको छ।
अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको ‘भिसा खारेज’ गरेको छ ।
भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार विगतमा हसिनाको अमेरिकासँग राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय अमेरिकाले उनको ‘निरंकुश प्रवृत्ति’को आलोचना गरेको थियो ।
ढाकास्थित अमेरिकी दूतावासका प्रवक्ताले भिसाको रेकर्ड अमेरिकी कानुनअनुसार गोप्य रहने भएकाले व्यक्तिगत भिसा केसहरूको विवरणबारे बताउन नमिल्ने बताएका छन् ।बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ। बङ्गलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ।
अब बेलायत जाने अपेक्षा गरिएको छ । उनी सुरुमै नयाँ दिल्लीबाट लन्डन जाने तयारीमा थिइन् । तर, बेलायत सरकारले कुनै पनि सम्भावित अनुसन्धानविरुद्ध बेलायतमा कानुनी सुरक्षा नपाउने संकेत गरेपछि उनले अन्य विकल्पबारे सोचिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हसिनालाई शरण दिन नसकिने – बेलायत
शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ । बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो ।
बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएपछि हसिना अहिले दिल्लीमा छिन् ।
शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ । ‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको तगडा रेकर्ड छ ।
तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन,’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन् । अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ । औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको हल्ला पनि सुन्नमा आइरहेको छ ।
बेलायत तथा युरोपका अन्य देशहरुले आफै पनि शरणार्थी तथा आप्रवासीहरुबाट बिभिन्न किसिमका समस्याहरु भोग्न थालेको अवस्था छ । यही परिप्रेक्ष्यमा भविष्यमा हुनसक्ने सम्भावित विरोध र असुरक्षाका कारण ती देशहरुले शरण दिन आनाकानी गरेको हुनसक्ने संचारवृत्तको विश्लेषण छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com