नेपाल इजरायल डट कम, जेरुसलेम । हमासको राजनीतिक ब्युरोका नेता इस्माइल हानियाको इरानमा हत्या भएको छ । ईरानको रिभोलुसनरी गार्डले पुष्टि गरे अनुसार इरानको तेहरानमा इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो, जसमा हमासका वरिष्ट नेता र उनका एक सुरक्षाकर्मीको मृत्यु भएको छ।
हानिया इरानको नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिन गएका थिए, सोही समयमा इरानमा उनीमाथि आक्रमण भएको हो । इरान र हमास उग्रवादी समूहले बुधबार बिहान जानकारी दिएका छन । हमासले जनाए अनुसार उनलाई तेहरानमा उनको निवासमै इजरायलले आक्रमणमा गरेर मारेको हो । यस घटनाको अनुसन्धान भइरहेको छ।
यस आक्रमणको जिम्मा तुरुन्तै कुनै समूहले नलिएको भए पनि इजरायलले यो आक्रमण गरेको ठानिएको छ । इजरायलले आतंकवादी समुह हमास र यसका साझेदारहरुलाई निमिट्यान्न पर्ने बताउदै आएको छ। हमासले ७ अक्टोबरको इजरायलमा गरेको हमला पछि इजरायलले हमास र यसका साझेदार समुहहरु बीच युद्धको स्थिति बनेको छ । अक्टुबर ७ को हमास आक्रमणमा १,२०० व्यक्तिको मृत्यु भएको थियो र करिब २५० जना बन्धक बनाइएका थिए।
हमासका वरिष्ठ अधिकारी मोसा अबु मरजूकले हमासका नेता इस्माइल हानियाको हत्या एक कायरतापूर्ण कार्य भएको बताएका छन्। यो जानकारी “अल-अक्सा TV” च्यानलले उद्धृत गरेको छ।
हिजो जुलाई ३० को दिन हिज्बोल्लाहका शीर्ष कमाण्डर फुआद शुक्री पनि लेबनानको बेरुत नजिक इजरायली आक्रमणमा मारिएका छन । शुक्रीले इजरायलको गोलान हाइट्समा एक फुटसलमा आक्रमण गरी १२ जना द्रुज केटाकेटीको हत्या गराएका थिए । द्रुज इजरायलमा रहेका आदिवासीको समुह हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com