नेपाल फेरि एउटा अस्वाभाविक तर निर्णायक घडीमा आइपुग्न लागेको देखिन्छ। सरकारको निर्णयमा फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता प्रमुख सामाजिक सञ्जालहरू बन्द भएपछि देशभर आक्रोश फैलिएको छ। यसलाई सरकारले दर्ता नगरेको जस्तो प्राविधिक कारण देखाएको छ, तर जनता बुझिरहेका छन् यो केवल बहाना हो। सत्य के हो भने, यस कदमले सरकारलाई आलोचना गर्ने आवाज बन्द गर्न सजिलो भएको छ। यही कारणले अहिलेका युवाहरू, विशेष गरी जेन जी पुस्ता, सडकमा उत्रन तयार भएका छन्।
नेपालका जेन जी पुस्ताले यही भदौ २३ गते (सेप्टेम्बर ८) देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। उनीहरूले मुलुकमा बढ्दो भ्रष्टाचार र हालै सरकारले गरेको सामाजिक सञ्जालमा नियन्त्रणको विरोधस्वरूप माइतीघर, काठमाडौंसहित देशका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शन गर्ने तयारी गरेका हुन्। आन्दोलनको उद्देश्य सरकारलाई उत्तरदायी बनाउनु, नागरिक स्वतन्त्रताको रक्षा गर्नु र युवाहरूको बढ्दो असन्तोषलाई सार्वजनिक रूपमा अभिव्यक्त गर्नु हो।
जेन जी पुस्ता भन्नाले सन् १९९५ पछि जन्मिएका इन्टरनेट र प्रविधिसँगै हुर्केका पुस्तालाई जनाइन्छ। नेपालमा उनीहरू अहिले १८ देखि ३० वर्षबीचका उमेर समूहमा छन्। उनीहरू डिजिटल जगतका नागरिक हुन् सामाजिक सञ्जाल, सूचना प्रवाह र नयाँ विचारमा सजग। उनीहरूले विश्वका सफल अभ्यासहरू देखेका छन्, न्याय र समानताको आवश्यकता बुझेका छन् र व्यवस्थाको असफलता पनि स्पष्टसँग महसुस गरेका छन्।
नेपालको सन्दर्भमा, यही पुस्ता शिक्षित छ तर बेरोजगारीको चपेटामा परेको छ। उनीहरूले आफ्ना अभिभावकहरूले दशकौँदेखि भोगेको निराशा दोहोर्याउन चाहँदैनन्। उनीहरूले देखेका छन । राजनीतिज्ञ र उनीहरूको परिवार विलासी जीवन बाँचिरहेका छन्, तर उनीहरू आफैं रोजगारीको खोजीमा भौतारिरहेका छन्। यही असमानता विरुद्ध अब उनीहरू मुख खोल्न थालेका छन्।
यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको प्रतिवाद मात्र होइन। यो दशकौँदेखि गहिरिँदै गएको भ्रष्टाचार, असमान अवसर र शासकीय संरचनाको विफलताविरुद्धको उभार हो। युवाहरूले अब प्रश्न गर्न थालेका छन, किन हाम्रो पसिनाको पैसा घुसखोरीमा हराउँछ? किन हामीलाई आफ्नै देशमा रोजगारी छैन तर विदेशमा दासझैँ काम गर्नुपर्छ? किन राजनीतिज्ञका छोराछोरी विलासी कार चढ्छन्, महँगा कलेजमा पढ्छन् तर आम युवाले २५/३० हजार कमाउन खाडी पसिना बगाउनुपर्छ?
यही असमानतालाई उजागर गर्न अहिले टिकटक र इन्स्टाग्राममा “नेपो किड” ट्रेन्ड चलेको छ। यसले राजनीतिज्ञका परिवारका विलासी जीवनशैली र आम युवाको संघर्षबीचको अन्तरलाई प्रत्यक्ष देखाइदिएको छ। प्रश्न सोधिएको छ ! यी सबै सुविधाको स्रोत के हो? के यो न्याय हो?
यस आन्दोलनसँग एउटा महत्वपूर्ण अपेक्षा जोडिएको छ। यो कुनै दल, नेता वा व्यक्तिको नियन्त्रणमा परेको आन्दोलन होइन। यो स्वतन्त्र रूपमा जन्मिएको युवा जनआन्दोलन हो। यसलाई कुनै पार्टीको एजेन्डामा रूपान्तरण गरियो भने यसको सार हराउनेछ। त्यसैले युवाहरूले स्पष्ट गरेका छन । आन्दोलन शान्तिपूर्ण हुनेछ तर दृढ हुनेछ त्यसैले कुनै पनि यस खाले संगठनहरुको घुसपेठ नहोस ।
सामाजिक सञ्जालमै युवाहरूले लेखिरहेका छन । लडाइँ हिंसाको होइन, सचेत र शान्तिपूर्ण प्रतिरोधको हो। उनीहरूको लक्ष्य सत्ता र प्रणाली हो, व्यक्ति होइन। व्यक्तिगत आक्रमण आन्दोलनको उद्देश्य होइन, बरु भ्रष्टाचार र दमनकारी संरचनाविरुद्ध आवाज उठाउनु हो।
नेपालका युवाले अहिले दिएको चेतावनी केवल असन्तोषको स्वर होइन, यो देश बचाउने प्रयास हो। जेन जी पुस्ताले प्रष्ट सन्देश दिएका छन अब भ्रष्टाचार अन्त्य नगरिए, अवसर बराबरी नभए, नागरिक स्वतन्त्रता सुरक्षित नगरिए, देश बन्दैन।
यो पुस्ता शिक्षित छ, प्राविधिक ज्ञानले सम्पन्न छ र आफ्ना सपनाहरू पुरा गर्ने मात्र नभई देशलाई पनि विश्वस्तरीय बनाउन सक्ने क्षमता राख्छ। यिनै युवाको हातमा नेपालको भविष्य छ। त्यसैले आन्दोलनलाई केवल विरोधको रूपमा होइन देश निर्माणको शुरुवातको रूपमा लिनुपर्छ।
नेपालमा यदि भ्रष्टाचारलाई अब पनि बेवास्ता गरियो भने, शिक्षित युवाहरूको पलायन अझ बढ्नेछ। समाजभित्रको असमानता गहिरिँदै जानेछ र लोकतन्त्रको मूल्य केवल कागजमा सीमित हुनेछ। तर यदि सरकार र समाजले यो पुस्ताको चेतावनीलाई सम्मानपूर्वक सुनेर वास्तविक सुधारतर्फ कदम चाल्यो भने, यही जेन जी पुस्ता नेपाललाई नयाँ दिशामा डोर्याउने पुस्ता सावित हुनेछ।
यसकारण, यो आन्दोलन केवल असन्तोषको प्रतिविम्ब होइन यो आशाको प्रकाश हो। यो पुस्ताले दिएको चेतावनीलाई सुन्ने कि नसुन्ने भन्ने निर्णय अब सरकार र सम्पूर्ण समाजकै काँधमा छ। यदि सुन्न सकियो भने यो देश बाँच्नेछ, नसुन्ने हो भने यो आन्दोलन इतिहासमा अर्को असफल प्रतिरोधका रूपमा मात्रै लेखिनेछ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
नेपाल इजरायल डट कम इजरायलस्थित नेपाली समुदायको आवाज हो । हामी केवल सन्देश र समाचारमात्र प्रवाह गर्दैनौँ, परदेशी भूमिमा बिताएका जीवनका संघर्ष र कथाहरू लेख्छौं । नेपालीका भोगाई, अनुभव तथा गतिविधिहरू प्रकाशन गर्छौं । इजरायलमा नेपाली समुदायको योगदानलाई कदर गर्दै यथासम्भव इजरायल प्रवासमा भएका नेपाली गतिविधि र क्रियाकलापहरुको दस्तावेज राख्ने यत्न गर्छौं ।
इजरायलमा रहेको नेपाली समुदायलाई जीवन्त बनाउने र तिनका कर्महरुलाई इन्टरनेटमा सधैंका लागि अभिलेखिकरण गर्ने हाम्रो ध्येय हो । ।
यहाँबाट पोष्ट गर्नुस
info@nepalisrael.com
झापा दमक स्थायी घर भई विगत १० वर्षदेखि इजरायलमा रहेका खेमराज जम्मर कट्टेल , सामाजिक र बौद्धिक क्षेत्रमा सक्रिय छन्। नेपाली युवाको प्रवासी पीडा, बेरोजगारी र समसामयिक विषयमा लेखहरू प्रकाशित गर्दै आएका उनि इजरायलमा खेलकुद र सामाजिक एकतामा पनि सक्रिय छन्। समाधानमुखी, यथार्थवादी र देश प्रेमले भरिएको विचार शैलीले उनलाई परिवर्तनशील लेखक र सामाजिक अभियन्ताका रूपमा पनि चिनाउँछ।
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj
- खेमराज जम्मर कट्टेलhttps://nepalisrael.com/nepalisrael/author/khemraj