नेपाल इजरायल डट कम (जेरुसलेम) । इजरायल स्थित नेपाली दूतावासकी महामहिम राजदूत श्री कान्ता रिजालज्यूले इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री माननीय आवि डिचरका साथै वैदेशिक व्यापार तथा अन्तर्राष्ट्रीय सहयोग केन्द्रका प्रमुखसँग शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली दूतावास इजरायलका सहचारी श्री सञ्जयकुमार शाहको समेत उपस्थिति रहेको सो बैठकका क्रममा कृषि क्षेत्रमा द्विपक्षीय सहयोग र सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।
इजरायलमा कुल जनसङ्ख्याको ३.१ प्रतिशतले मात्र कृषि पेसा अङ्गालेर पनि आत्मनिर्भर भई कृषि जन्य उत्पादन निर्यात समेत गरिन्छ । कृषि क्षेत्रमा इजरायलले गरेको अत्याधुनिक विकास, यान्त्रिकीकरण तथा सिँचाइ प्रणालीलाई विश्वमै उदाहरणीय रूपमा लिइन्छ ।
इजरायलले नेपालसँग विशेष गरी कृषि तथा श्रम क्षेत्रमा सहकार्य गर्दै आएको छ । यस अघि इजरायलले छात्रवृत्ति र कृषि तालिम मार्फत नेपाली विद्यार्थीलाई सीप र प्रविधिको ज्ञान आदान प्रदान गर्दै आएकोमा पहिलो पटक कृषि क्षेत्रमा एक हजार प्रत्यक्ष कामदार लैजाने सहमति पनि गरेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com