गैर आवासीय नेपाली सङ्घ ,राष्ट्रिय समन्वय परिषद् -इजरायले यो वर्षको तीजमा मौलिकता जोगाउने गरी कार्यक्रम तय गरेको छ । तीजको दर खाने दिन अर्थात् सेप्टेम्बर १७ तारिख, आइतबार साँझ इजरायलवासी नेपालीलाई लक्षित गर्दै तेल अभिव स्थित लेबेन्स्की पार्क र यौनजन्य हिंसामा परेका दिदी वहिनीहरु आश्रित रक्षा नेपाल, काठमाडौमा एकै साथ विशुद्ध शाकाहारी दर खुवाउने कार्यक्रम राखिएको एन आर एन ए इजरायलले जनाएको छ ।
घरपरिवार बाट टाढा परदेशमा रहँदा पनि परिवार सङ्गै रहेको अनुभूति दिलाउन यो संस्थाले प्रत्येक वर्ष यसरी इजरायलमा कार्यक्रम गर्दै आएको छ । सामाजिक सेवामा समर्पित गैर राजनैतिक अनि गैर नाफामूलक संस्था भएर नै एन आर एन ए इजरायलले आफ्नो सेवा जन्मथलोमा पनिपुर्याउदै आएको छ । त्यसैको सिलसिलामा परदेश र घर देशमा एकै पटक दर खुवाउने उद्देश्य स्वरूप रक्षा नेपालमा आश्रित चेलीहरूलाई पनि सोही दिन नै दर खुवाउने योजना तय गरिएको एन आर एन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताउनु भयो ।
इजरायललाई कर्म थलो बनाउँदै आउनु भएका सम्पूर्ण नेपाली र नेपाली भाषी दिदी बहिनी तथा दाजुभाइहरू आइतबार अर्थात् भोलि साँझ ८ बजेदेखि निःशुल्क दर खाम्दै मौलिक तीज गीतमा रम्न सक्नेछन् । इजरायलको प्रमुख व्यापारिक केन्द्र तेल अभिव स्थित लेबेन्स्की पार्कमा गरिन लागेको सो कार्यक्रममा नेपाली राजदूतावास सङ्गै विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको आयोजकले बताएको छ । निःशुल्क प्रवेशको व्यवस्था गराइएको सो कार्यक्रममा विशेष चेलीहरू माइत गए सरह आउन र दाजुभाइहरू पनि सम्भव भए सम्म मादलहरू बोकी आएर मौलिक तीज गीतमा रमाइलो माहोल सिर्जना गर्दै मिष्टान्न दरको आनन्द लिन सक्नेछन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com