कयौँ सप्ताहदेखि संगीत प्रेमीहरु ‘सुपरनोभा म्युजिक फेस्टिभल’ को प्रतीक्षामा थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा शनिबार यसको आयोजना गरिएको थियो ।
चरमपन्थी समूह हमासले शनिबार जब इजरायलमा हमला गरे, उनीहरुको सुरुवाती निशानामा यही संगीत फेस्टिभल थियो । इजरायलको उद्धार एजेन्सी जाकाका अनुसार हमासको आक्रमणमा यो एक्लो ठाउँमा अहिलेसम्म २ सय ६० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
हमासको आक्रमणको बाहिरिएको भिडियोमध्ये एउटामा मानिसहरू मरुभूमिमा दौडिरहेका देखिन्छ। यो भाइरल भिडियो यही संगीत महोत्सवको हो। घटनाका एक प्रत्यक्षदर्शीका अनुसार केही गडबड भएको पहिलो संकेत बिहान सबेरै रकेटको चेतावनी स्वरुप साइरन बज्दा आएको थियो।
उनले भने, ‘कसैले केही बुझ्नुअघि नै उनीहरुले बिजुली काटिदिए र एक्कासी कतैबाट उनीहरु बन्दुक लिएर भित्र पसे र चारैतिरबाट गोली चलाउन थाले । मानिसहरु भाग्न खोजे, कोही भागे र कोही भागेर आ–आफ्नो गाडीमा बसे तर जीपमा आएका बन्दुकधारीले गाडीमा गोली चलाउन थाले ।’ दौडिरहेका मानिसलाई समेत गोली हानेको उनले बताए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























