टीकापुर : इजरायलको मिभ्टाहिम सहरको शोरासिम फर्ममा १८ जना नेपाली भोकभोकै बसिरहेका छन्। त्यहाँ रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले सानो बंकरभित्र १८ जना नेपाली भोकभोकै रहेको बताइन्।
‘हामी मिभ्टाहिम सहरको शोरासिम फर्ममा कार्यरत छौं। हिजो बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं, अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं, ३ जना सुदूरपश्चिम विश्वविद्यालयका र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालयका। हामी १२ जना छात्रा र ६ जना छात्र छौं।
नेपालबाट ल्याएको चाउचाउ र पानी खाएर हिजोको रात काटेको उनले बताइन्। ‘कलेजका साथीहरू अर्को फर्ममा थिए। बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए। हिजो हामीलाई बचाउ, नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए। त्यतिबेला त्यति गाह्रो भइसकेको थिएन। हामीले मजाकमा लियौं। हामीलाई रमाइलो लागिरहेको थियो। सामान्य लागिरहेको थियो।’
उनीहरूको म्यासेज आएपछि होस उडेको उनको भनाइ छ। ‘त्यसपछि अवस्था झन बिग्रियो। गाह्रो हुँदै गयो। अहिले ४९ मध्ये १२ जना साथीहरू सम्पर्कबिहीन छन। ५ जना गम्भीर घाइते भएको खबर छ। हामी हाम्रा साथीहरू सकुशल हुन भन्ने प्रार्थनाबाहेक केही गर्न सकिराखेका छैनौं। यता नि कतिबेला के हुने हो केही थाहा छैन। हामीसँग भगवानको भरोसा बाहेक अरू केही आशा छैन। हामीसँगै आएका सबै साथीसँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं।’
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरमा अध्ययनरत हाल इजरायलमा रहेकी कल्पना जोशीसँग म्यासेन्जर गरिएको कुराकानी।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com