काठमाण्डु – युद्धग्रस्त इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ।
नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको हाे ।
प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमणपछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन । आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।
परराष्ट्रमन्त्री पनि इजरायल प्रस्थान
इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडेका छन् ।
चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् ।
तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारेको छ ।
तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com