इजरायलबाट फर्केका विद्यार्थीहरु त्यो दिन सम्झदै -बंकरको बास, साथीको मृत्युले बेचैन , भन्छन् : द्वन्द्वमा हराइरहेका साथि खोजीदिनुस्
इजरायलको युद्धमा इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थीहरू बिहीबार राति त्रिभुवन विमानस्थलमा झरे । जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए ।
उनीहरूमध्ये कोही एक महिना अगाडि मात्र इजरायल गएका थिए त कोही दुई महिना अगाडि ।
बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनीहरूमध्ये अधिकांशले भनिरहेका थिए– धन्यवाद नेपाल सरकार !
उनीहरूले नेपाल एयरलाइन्सलाई पनि धन्यवाद दिन कन्जुस्याइँ गरेनन् । कठिन समयमा पनि आफूहरूको उद्धार भएकोप्रति उनीहरू कृतज्ञ थिए ।
कोही अब इजरायल नफर्किने बताइरहेका थिए त कोही बङ्कर बासको अनुभव सुनाइरहेका थिए । कोही इजरायलका आकाशमा देखिएका मिसाइलका झिल्कालाई नेपालमा तिहारमा देखिने आतसबाजीसँग तुलना गरिरहेका थिए ।
“सकेसम्म नेपालमै बस्ने हो । विदेशी भूमि आफ्नो जस्तो हुँदो रहेनछ,” बझाङका एक विद्यार्थी भनिरहेका थिए ।
कोही नेपाली भूमिमा सम्भावनाका कुरा गरिरहेका थिए, इजरायलले कृषिमा गरेको आधुनिकीकरणका किस्सा सुनाइरहेका थिए । तिनैमध्येका रामपुर चितवनका वसन्त भट्टराईले सम्भावना भएर नेपालले कृषि क्षेत्रलाई बेवास्ता गरिरहेको बताए ।
कोही बेपत्ता रहेका विपीन जोशीको पनि पनि सम्झना गरिरहेका थिए ।
असोज २० गते शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।