काठमाडौं । साईप्रसका लागि नेपाली राजदूत कान्ता रिजालले गणतन्त्र साईप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडिस समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
राष्ट्रपति निवासमा आयोजित एक समारोहकाबीच राजदूत रिजालले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। साथै राजदूत रिजालले त्यसपछि साईप्रसका शिक्षामन्त्रीसँग पनि भेटवार्ता गर्नुभएको छ ।
इजरायलको लागि आवासीय नेपाली राजदूतले नै साइप्रसलाई पनि हेर्ने जिम्मेवारी प्राप्त गरेको छ ।
उक्त भेटवार्तामा नेपालबाट साईप्रसमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको हितको विषयमा छलफल भएको बताइएको छ । राजदूत रिजालले साईप्रसका श्रम सचिवसँग भेटघाट गरी साईप्रसमा कार्यरत नेपाली श्रमिकहरुको न्यूनतम तलव वृद्धि गर्ने तथा उपयुक्त कार्यवातावरण बनाउने विषयमा पनि छलफल गर्नुभएको छ । यस्तै राजदूत रिजालले परराष्ट्र मन्त्रालयका कन्सुलर महाशाखा प्रमुख र नेपाल हेर्ने एशिया महाशाखा प्रमुखसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गर्नुभएको छ ।
उक्त भेटमा दुई देशबीच व्यापार र पर्यटन प्रवर्द्धनका साथै शैक्षिक एवं सांस्कृतिक क्षेत्रमा सहकार्य बढाउने विषयमा मूख्य छलफल र कुराकानी भएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com