काठमाडौँ । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे सरकार स्पष्ट नरहेको देखिएको छ । हमासले इजरेली र विदेशी गरी झन्डै ६ दर्जन बन्धक मुक्त गरिसक्दा पनि विपिनको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको हो ।
जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ । केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो । उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन् । तर नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन ।
परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताए । त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बताए । यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो ।
जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन । उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरेली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो । तर हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन ।
इजरेली सुरक्षा अधिकारीहरूले तेल अभिभस्थित नेपाली दूतावासका अधिकारीहरूलाई विपिन जोशी हमासको कब्जामा रहेका छन् भन्ने मुख्यतः तीनवटा आधारहरू दिएको बताइएको छ । ती आधारहरूमा अल-शिफा अस्पतालको उक्त फुटेजमा उनीजस्तो एक व्यक्ति देखिनु एउटा आधार हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com