तेल अभिभ– इजरायल र हमासबीच अल्पकालिक युद्धविरामपछि अहिलेसम्म धेरै बन्धक रिहा भइसकेका छन् । इजराइल र हमासबीच यो सम्झौता समाप्त हुनु अगाडि नै युद्धविरामको समय दोस्रो पटक बढाइएको थियो । उक्त अवधि बिहीवार सकिँदैछ ।
यसैबीच हमासबाट रिहा भएका बन्धकले आफूहरुले हमासको कैदमा भएको समयमा भोगेका कष्टका कुराहरु शेयर गरेका छन् ।
ती बन्धकहरुले आफूहरु प्लास्टिकको कुर्सीमा सुत्नु परेको र खानामा केबल भात र पाउरोटि मात्र थियो भन्ने बताएका छन् ।
उनीहरु हमासको बन्धक भएको समयमा आफ्नो जीवन नर्क जस्तो भएको बताउँछन् ।
त्यस्तै डेढ महिनाभन्दा बढी समय वन्धक बन्नु अधिकांशको दिमागमा गहिरो असर परेको छ । बालबालिकाले रुँदा उनीहरुलाई कुटपिट गरिएको तीतो अनुभव छ । त्यति मात्र नभएर हमासले गरेको आक्रमणको भिडियो जबरजस्ती देखाइन्थो । यस्ता कुराले बालबालिका डराएर बाहिर आउन सक्दैन थिए ।
हमासले १२ वर्षका ईटन याहलोमी र नौ वर्षकी एमिली ह्यान्डलाई गाजामा ५० दिनसम्म बन्धक बनाएर राखेको थियो । ईटनलाई बारम्बार टर्चर दिइन्थो र हमासको आक्रमणको भिडियो हेर्नका लागि बाध्य बनाइथ्यो । उनलाई बारम्बार पिटिन्थो । अहिले पनि उनी ती सबै कुरा सम्झेर रुन्छन् ।
त्यस्तै नौ वर्षीया एमीलीका पिताका अनुसार छोरी घर फर्किएपछि पनि एमिली बिस्तारै बोल्ने र ईशारामा कुरा गर्छिन् । ठूलो आवाजले बोल्दा उनी त्रास महसुस गर्छिन् । उनलाई बन्धक बनाउने क्रममा हमास आतंकवादीले आवाज ननिकाल्नका लागि डराउने गर्थे । त्यसैले बोल्न र ठूलो आवाज निकाल्न उनी अहिले पनि संकोच मान्छिन् ।
हमासको कैदबाट रिहा भएका धेरैमा स्वास्थ्य समस्या आएको थियो । उनीहरुलाई अस्पताल नै भर्ना गर्नु परेको थियो । प्रायः सबैको वजन कम भएको थियो ।
एक जना बन्धक भन्छन् – ‘हामीलाई हमासको सुरुङ भित्र राखिएको थियो, जुन माकुरोको जालो जस्तै थियो । दिनमा एक पटक मात्र खाना खान दिइन्थ्यो, जसमा काँक्रो,चीज र पाउरोटी मात्र हुन्थ्यो ।
नोभेम्बर २४ मा प्रारम्भ भएको युद्धविराम छ दिनसम्म कायम रहेको छ । बिहिवार यसको अवधि सकिँदैछ, तरलाई बढाउने अथवा नबढाउने बारेमा केही पनि भनिएको छैन ।
गत अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा हमासले २४० जना मानिसलाई बन्धक बनाएर लगेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com