काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।
परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन्। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास जारी रहेको उनले बताएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ। हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहका छौं,’ राजदूत अन्सारीको भनाइ उद्धृ गर्दै मन्त्रीको सचिवालयले भनेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com