नेदरल्यान्डस्को हेगस्थित इन्टरनेसनल कोर्ट अफ जस्टिसमा इजरायलविरुद्ध दक्षिण अफ्रिकाले दायर गरेको नरसंहारसम्बन्धी मुद्दामा विगत दुई दिनदेखि सुनुवाइ भइरहेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा गरिरहेको सैन्य कारबाही नरसंहार भएको दक्षिण अफ्रिकाको दलिल छ ।
प्यालेस्टाइनी समूह हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलले गाजामा सैन्य अभियान चलाएको छ । इजरायली आक्रमणमा परी हालसम्म २३ हजार ३ सय प्यालेस्टाइनीको मृत्यु भएको यीमध्ये धेरैजसो बालबालिका र महिला रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसरी इजरायली सैन्य कारबाहीमा गाजा ध्वस्त बनेपछि दक्षिण अफ्रिकाले हेग कोर्टमा इजरायलविरुद्ध नरसंहार मुद्दा हालेको छ । यी दुवै हेग कोर्टलाई अनुमोदन गरेका राष्ट्र भएकाले सो अदालतले दिने आदेश कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर अदालले आफ्नो आदेश कार्यान्वयनका लागि कुनै शक्ति भने लगाउन सक्दैन । जसका कारण अदालतबाट जस्तो आदेश भए पनि कार्यान्वयन हुने सम्भावना भने अहिले देखिएको छैन ।
दुई दिनदेखि जारी बहसमा दक्षिण अफ्रिकाको तर्फबाट अन्तर्राष्ट्रिय कानुनका प्रोफेसर जोन डुगार्ड, वकिल टेम्बेका एनजीकुकेतोबी र वकील आदिला हाशिमले आफ्नो तर्क राखिरहेका छन् ।
उनीहरूले इजरायलको आक्रमण कुनै एक समुदायविरुद्ध भएकाले त्यो नरसंहार भएको दलिल गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार दक्षिण अफ्रिकी वकिलहरूले प्यालेस्टाइनी क्षेत्रमा एक नस्लीय समूहलाई ठूलो संख्यामा नस्ट गर्ने उद्देश्यले इजरायलले आक्रमण गरेको भन्दै यो नरसंहार भएको बताएका छन् । उनीहरूले तत्काल गाजामा इजरायली कारबाही रोक्न आदेश माग गरेका छन् ।
तर, इजरायली पक्षले भने दक्षिण अफ्रिकी दलिलको खण्डन गरेको छ । अदालतमा तथ्यलाई तोडमोड गरेर पेस गरिएको इजरायली दाबी छ । उसले आफूले नरसंहार गरेको नभई नरसंहारविरुद्ध कारबाही गरिरहेको बताएको छ ।
इजरायलको तर्फबाट इसराइली कानुनी सल्हकार ताल बेकर, ब्यारिस्टर मैलकोम शो र गिलाद नोआम बहस गर्दैछन् ।
हेग कोर्टको १७ सदस्यीय इजलासमा एक जना न्यायाधीश इजरायलका पूर्वप्रधानन्यायाधीश आरोन बराक छन् भने एक जना दक्षिण अफ्रिकाका पूर्व उपप्रधानन्यायाधीश दिक्गांग मोसेनेक न्यायाधीश छन् । एक एक जना अतिरिक्त न्यायाधीश मनोनीत गर्न पाउने व्यवस्थाअनुसार यी दुवै मुलुकले न्यायाधीश मनोनीत गरेका हुन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com