एजेन्सी । युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू विशेषगरी संयुक्त राज्य अमेरिकालाई गाजामा ‘थुप्रै मानिसहरू’ मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।
अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले भने, ‘ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ-तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।’
‘के योे तार्किक छैन ?’ उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेका छन् । बोरेलले भनेका छन्, ‘यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।’
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको ईयू कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा १० लाख प्यालेस्टाइनीहरूले शरण लिइरहँदा तेलअभिभले योजनाबद्ध इजरायली सैन्य कारबाही अघि बढाएको छ ।
ईयू विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । फेब्रुअरी ११ को त्यहाँको आक्रमणले ‘एक अकल्पनीय मानवीय प्रकोप निम्त्याउने’ र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने उनको धारणा छ ।
यसै बीच ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसले गाजामा भइरहेको अत्याचारको जिम्मेवारी युरोपेली देशहरू रहेको बताएका छन् । ‘हामी युरोपेलीहरूले समस्या सृजना गरेका छौं । हामी यसको स्थायित्वका नाममा खराब भूमिका खेलिरहेका छौं,’ भारोफिकोसले अल जेजलाई भने ।
बोरेललाई ग्रीसका पूर्व अर्थमन्त्रीले यस घटनामा इजरायललाई पर्याप्त दबाब नदिएको र इयुले इजरायललाई सामूहिक रूपमा सशस्त्र सहयोग गरिरहेको आरोप लगाएका छन् । ‘जर्मनी, फ्रान्स र इटालीले मानिसहरूलाई मार्न रफाहमा प्रयोग भइरहेका हतियारहरू पठाइरहेका छन्,’ भारोफाकिसले थप टिप्पणी गरेका छन् ।
यसबाहेक, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले पनि रफाहमा इजरायली भूमि हमलाको लागि दुःख व्यक्त गरेका छन् । यदि नियोजित घुसपैठ रोकिएन भने भविष्यमा के हुन्छ भन्ने पूर्ण कल्पना गर्न सकिने टर्कले उल्लेख गरे ।
उनले भने, ‘रफाहमा सम्भावित पूर्ण सैन्य घुसपैठबीच करिब १५ लाख प्यालेस्टिनीहरू इजिप्टको सिमानामा भाग्नको लागि तयार रहेको डरलाग्दो अवस्था छ । यस सम्भावनालाई ध्यानमा राख्दै धेरै ठूलो सङ्ख्यामा नागरिकहरू त्यसमा पनि प्रायः बालबालिका र महिलाहरू, सम्भवतः मारिने र घाइते हुने अधिक सम्भावना छ ।’
गाजापट्टीको ठूलो भागलाई ध्वस्त पारेको इजरायली हवाई आक्रमणबाट बच्न गाजाका अधिकांश जनसङ्ख्याले रफाहमा शरण लिएका छन् । गाजाको शासक निकाय हमासले इजरायललाई चेतावनी दिएको छ – रफाहमा कुनै पनि भूमिगत आक्रमणले युद्धविराम र कैदीहरूको आदानप्रदानका लागि चलिरहेको वार्तामा बाधा पुर्याउन सक्छ ।
प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरायली आक्रमणमा २८ हजार ३४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन्
सहायता एजेन्सीहरूको भनाइ अनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । इजरायलले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रतिक्रियामा कठोर सैन्य अभियान शुरु गरेको छ जसले भयानक द्वन्द्व र मानवीय क्षति निम्त्याएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com