इजरायल/तेल अविब –फागुन १२ गते शनिबार इजरायलमा श्रीस्वस्थानी व्रतको साङ्गे कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। साई सेन्टर इजरायलले आयोजना गरेको स्वस्थानी धार्मिक उत्सबमा माँ पाथीभरा भक्ति समाजले पनि कलश जात्राको झाँकीसहित कार्यक्रममा आफ्नो सहभागिता जनाएको थियो ।
इजरायलको लागि नेपाली राजदूत महामहिम कान्ता रिजालले पानसमा वत्ति वालेर उक्त धार्मिक कार्यक्रमको समुद्धघाटन गर्नुभएको थियो । उहाँले हमास आक्रमणमा परेर निधन भएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्ति तथा अपहरितहरुको कुशलताको कामना गर्नुभएको थियो ।
प्रसिद्ध पुराणवाचक पण्डित कुवेर सुबेदीले स्वस्थानी व्रतकथा समापनको सो अवसरमा श्रीस्वस्थानी कथाहरूको वाचन र धार्मिक प्रवचनका साथै इजरायलमा युद्धले गर्दा भएको अशान्तिलाई छिटै स्थायी शान्तिमा परिणत होस् भन्ने कामनासहित पूजा, भजन र प्रार्थना गरेका थिए ।
माँ पाथीभरा भक्ति समाजले पुराणवाचक पण्डित सुबेदीलाई रुद्राक्षको माला र खादा ओडाएर सम्मानसहित रु २३ हजार नगद प्रदान गरेको जनाएको छ। कार्यक्रममा भक्तजनहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो।
श्रीस्वस्थानी व्रतकथाको आस्था र महत्व
पौष शुक्ल पूर्णिमाका दिनबाट शुरू हुने श्रीस्वस्थानी व्रतकथा एक महिना दिन सम्म वाचन गरिन्छ । उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ ।
श्रीस्वस्थानीव्रतकथामा वर्णित मृगस्थली, शालीनदी, लावण्य देश (हालको साखु) लगायत स्थल व्रतकथामा उल्लेख गरिएको र विषयवस्तु तथा घटना पनि नेपालकै सेरोफेरोमा घटेको भनी स्कन्द पुराणमा उल्लेख भएको हुंदा नेपालीहरुमा यस व्रतको ठूलो महत्व छ । नेपालीहरुमा ठूलो प्रभाव भएको सो व्रतकथा देशविदेशमा रहेका नेपालीहरुले वाचन गरेर मनाउछन । इजरायलको धार्मिक संस्था सत्य साई सेन्टर इजरायलले यसका साथै यसअघिपनि विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।
विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन स्वस्थानीको पुस्तकलाई वर्षदिनका लागि विसर्जन गरेर साङ्गे गर्ने प्रचलन रहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com