अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच सोमबारसम्म नयाँ युद्धविराम सम्झौता हुन सक्ने बताए । सम्झौताअन्तर्गत इजरायली जेलमा रहेका केही सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा बन्धक रहेका दर्जनौँ बन्धकलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबीच मध्यस्थका रूपमा काम गर्दै आएका छन् । उनीहरूले ६ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजरायली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् ।
एक अज्ञात इजरायली अधिकारीले समाचार साइट येनेटलाई वार्ताको ‘दिशा सकारात्मक’ रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर सेख तमिम बिन हमद अल–थानी यसै उद्देश्यका लागि मंगलबार पेरिस जाँदै छन् । त्यहाँ दुई नेताबीच राजकीय रात्रिभोज हुने
कतारको सरकारी समाचार एजेन्सीका अनुसार सेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरेका थिए । भेटमा ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासबारे छलफल भएको थियो । कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा अवस्थित रफाहमा इजरायलको स्थल आक्रमणमा ढिलाइ गर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् ।
हमासमाथिको ‘पूर्ण विजय’का लागि यो आक्रमण अत्यावश्यक रहेको नेतान्याहुले बताए । युद्धको करिब पाँच महिनापछि गाजापट्टीका अन्य क्षेत्रबाट भागेका करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण लिइरहेका छन् । इजरायली सेनाले देशको मन्त्रिपरिषद्लाई आक्रमणअघि रफाहबाट आमनागरिकलाई निकाल्ने आफ्नो योजना प्रस्तुत गरेको प्रधानमन्त्री कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारे कुनै विवरण जारी गरिएको छैन । संयुक्त राष्ट्रसंघले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com