जेरुसलेम : एकातिर वैदेशिक रोजगारीको लागि इजरायल आकर्षक गन्तव्य मानिदै आएको छ भने उता प्यालेस्टाइनसँग चर्किएको अनन्त लामो हिंसा र द्वन्दले गर्दा इजरायलको कृषि तथा निर्माण क्षेत्रमा कामदारको चर्को अभाव भएको छ । यसै अभावलाई मध्यनजर गर्दै इजरायलले कामदार आपुर्तिका लागि नेपाल भारत थाइल्यान्ड जस्ता देशहरुबाट कामदार झिकाउन थालेको छ । सुरक्षाका कारण इजरायलमा ठूलो संख्यामा रहेका प्यालेस्टिनी कामदारहरु विस्थापित भएपछि कामदारको अभाव भएको हो ।
भारतबाट यस अघि नै ठूलो संख्यामा कामदार जान थालिसकेका छन भने अन्य देशहरुबाट पनि यसअघि कृषि अध्ययनका लागि इजरायल आएर स्वदेश फर्किएका विद्यार्थीलाई कामदारको रुपमा पुन लगिएको छ । यसै क्रममा काठमाडौं इन्टरनेशनल इन्कर्पारेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय जना कृषि कामदारको माग ल्याएको जानकारी दिएको छ । यसले वैदेशिक रोजगार क्षेत्रमा तरंग पैदा गरेको छ । त्यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानसँग सन् २०१९ को मार्चमा भएको मेमोरेण्डम अफ कोअपरेशन अन्तर्गत निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० सार्वजनिक गरेको थियो ।
उक्त कार्यविधि सार्वजनिक भएपछि खुसी भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले लामो समयदेखिको माग पूरा भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसहित मन्त्रालयका सचिवसहित उच्च अधिकारीहरुप्रति आभार नै व्यक्त ग¥यो । तर समग्र वैदेशिक रोजगारका क्षेत्रमा जापानको रोजगारीभन्दा सरकारी स्तरमा मात्र कामदार पठाउन पाउने इजरायलमा निजी क्षेत्रले पनि कामदार पठाउन पाउने विषयमा चासो बढाएको छ ।
सँगसँगै काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि ल्याएको २ सय पुरुष कृषि कामदारको मागपछि भिसा कति छिटो आउँछ होला भन्ने विषयमा पनि आम व्यवसायीको ध्यान गएको छ ।
काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि ल्याएको डिमाण्डमा जाने कामदारको भिसा प्रक्रिया सहज भएमा व्यवसायीहरू डिमाण्ड खोज्न आक्रामक शैलीमा लाग्ने मनस्थितिमा देखिएका छन् ।
गाजा क्षेत्रमा इजरायल–हमासबीच लडाइँ चलिरहेको बेला पनि ठूलो संख्यामा भारतीयहरूले इजरायलमा रोजगारीका लागि आवेदन गरेका छन् । अघिल्लो वर्ष इजरायल र भारतका बीच भएको सम्झौताअनुसार ४२ हजार भारतीय इजरायलको निर्माण र नर्सिंङ क्षेत्रमा गएका थिए । व्यवसायीहरुले नेपालीका लागि पनि इजरायलमा दशौं हजार कामदारको माग रहेको बताएका छन् । खासगरी इजरायलस्थित नेपाली नियोगले छिटो छरितो सहजकर्ताको भूमिका खेल्न सके नेपालका लागि राम्रो अवसर हुनसक्ने जानकारहरु बताउँछन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com