तेहरान/वासिङ्टन — विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील र महत्वपूर्ण मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा बिछ्याइएका समुद्री बारुदी सुरुङहरू (माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मन्त्रालयको मूल्याङ्कन सार्वजनिक भएको छ । यसले गर्दा जारी द्वन्द्व अन्त्य भए पनि विश्वव्यापी ऊर्जा बजार तत्काल स्थिर नहुने र तेल तथा ग्यास आपूर्तिमा लामो समयसम्म अवरोध कायम रहने सङ्केत देखिएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएअनुसार, इरानले जलमार्गमा राखेका बारुदी सुरुङहरू हटाउने प्रक्रिया अत्यन्त जटिल हुने देखिएको छ । सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसको अवरोधले विश्वव्यापी बजारमा गम्भीर असर पुर्याइरहेको छ ।
चुनौतीपूर्ण प्रविधि र विशाल ‘खतराको क्षेत्र’ अमेरिकी संसद्को हाउस आर्म्ड सर्भिस कमिटीमा दिइएको गोप्य ब्रिफिङ अनुसार इरानले हर्मुज र आसपासका क्षेत्रमा २० भन्दा बढी बारुदी सुरुङहरू राखेको अनुमान गरिएको छ । तीमध्ये केही आधुनिक प्रविधिका छन् जसलाई टाढैबाट सक्रिय गर्न सकिने भएकाले पहिचान र निष्क्रिय पार्न थप कठिन भएको छ। यद्यपि, पेन्टागनका प्रवक्ता सीन पार्नेलले भने यस मूल्याङ्कनका विवरणहरूलाई ‘गलत’ बताएका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले करिब एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रलाई ‘खतराको क्षेत्र’ घोषणा गरेको छ, जुन पेरिस सहरको आकारभन्दा १४ गुणा ठूलो हो । यसले गर्दा समुद्री मार्ग अझ असुरक्षित बनेको छ र अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले वैकल्पिक मार्गको खोजी गर्न थालेका छन् । जर्मनीस्थित हपाग–लोयडका प्रतिनिधिहरूले ढुवानीका लागि स्पष्ट र सुरक्षित मार्गको आवश्यकतामा जोड दिएका छन् ।
राजनीतिक तनाव र अन्तर्राष्ट्रिय प्रयास
हाल इरान र संयुक्त राज्य अमेरिका तथा इजरायल बीचको द्वन्द्वका कारण यो क्षेत्र तनावपूर्ण छ । अमेरिकाले नाकाबन्दी कायम राखेको छ भने इरानले नाकाबन्दी नहटेसम्म हर्मुज नखोल्ने अडान राख्दै आएको छ । युद्धविरामको अवस्थामा पनि आक्रमण र सुरुङको डरले अत्यन्त सीमित जहाजहरूले मात्र यो मार्ग प्रयोग गरिरहेका छन् ।
यसैबीच, जलमार्ग पुनः सञ्चालनमा ल्याउन लन्डनमा बेलायत र फ्रान्सको पहलमा ३० भन्दा बढी देशका सैन्य योजनाकारहरू सहभागी बहुराष्ट्रिय वार्ता भइरहेको छ। प्रस्तावित ‘रक्षात्मक गठबन्धन’ ले समुद्री सुरक्षा सुनिश्चित गर्दै युद्धपछि हर्मुज खोल्ने र बारुदी सुरुङ हटाउने योजनाबारे छलफल गरिरहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























