इस्लामावाद । मध्यपूर्वमा तीव्र रूपमा बढ्दै गएको तनाव र युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको बहुप्रतीक्षित वार्ता निष्कर्षविहीन रूपमा टुङ्गिएको छ। करिब २१ घण्टासम्म लगातार चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले आइतबार सार्वजनिक रूपमा वार्ता कुनै ठोस सहमतिमा पुग्न नसकेको जानकारी दिएका हुन्।
वार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भान्सले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने स्पष्ट र “मौलिक प्रतिबद्धता” खोजेको भए पनि त्यसतर्फ इरानबाट ठोस संकेत नआएको बताए। सन् १९७९ को इरानी इस्लामिक क्रान्ति पछि यति उच्चस्तरीय रूपमा भएको संवादलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन। उनले अमेरिकाले इरानसमक्ष “अन्तिम र उत्तम प्रस्ताव” प्रस्तुत गरेको र त्यसमा निर्णय लिन केही समय दिइएको उल्लेख गरे।
यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि कम्तीमा दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको सैन्य आक्रमणपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई गम्भीर अस्थिरतामा धकेलेको छ भने यसको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको छ। आक्रमणको जवाफमा इरानले प्रतिशोधात्मक कदम चाल्दै आएपछि क्षेत्रीय तनाव झनै चुलिएको हो।
वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए। इरानी पक्षले अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउने नाममा युद्धपोत परिचालन गरी दबाब सिर्जना गरिरहेको आरोप लगाएको छ। होर्मुज जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ, जसका कारण यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने वार्ताको परिणामप्रति खासै चासो नभएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिका युद्धमैदानमा पहिले नै रणनीतिक रूपमा विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्व कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्याइएको बताएका छन्। “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ,” उनले भने।
उता, इरानले सम्भावित कुनै पनि सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा गरिनुपर्ने र लेबनानमा हिजबुल्लाह विरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग अघि सारेको छ। तर भान्सले ती मुद्दाहरू इस्लामावाद वार्ताको औपचारिक दायराभन्दा बाहिर रहेको स्पष्ट पारे।

वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर गालिबफ ले गरेका थिए भने विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए। अमेरिकी पक्षबाट ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनर वार्तामा सहभागी भएका थिए। इरानले विशेषतः भान्सको सहभागिता र उनको विगतको युद्धविरोधी धारणा कारण केही सकारात्मक परिणामको अपेक्षा गरेको थियो।
द्वन्द्व सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण सुदृढ बनाउँदै आएको छ, जसले विश्व तेल बजारमा अस्थिरता ल्याएको छ। तेलको मूल्य वृद्धि हुँदै जाँदा अमेरिकाभित्रै पनि राजनीतिक दबाब बढ्दो छ। अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउन सक्रियता देखाइरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै हस्तक्षेप स्वीकार नगर्ने र भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
यसैगरी, लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अझै जारी छ। लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको छ। आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी भइरहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरे पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन्।
यता, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायम देखिन्छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ,” गालिबफले बताएका छन्। यद्यपि दुवै पक्षले कूटनीतिक संवादको ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन्।
विशेषज्ञहरूका अनुसार उच्चस्तरीय र ठूलो इरानी प्रतिनिधिमण्डलको सहभागिताले सम्झौताप्रति उनीहरूको गम्भीरता देखाए पनि आपसी अविश्वास, क्षेत्रीय शक्ति संघर्ष र जटिल भू–राजनीतिक समीकरणका कारण सहमति अझै टाढा देखिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























