काठमाडौँ – इजरायलस्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र जारी द्वन्द्वका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमप्रति सचेत रहन त्यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ।
दूतावासले विशेष रूपमा अलर्ट एसएमएस प्राप्त भएमा वा खतरा जनाउने साइरन बजेमा कुनै ढिलाइ नगरी नजिकैको बम सेल्टरमा सुरक्षित रूपमा जान अनुरोध गरेको छ।

साथै, इजरायल सरकार तथा सम्बन्धित आधिकारिक निकायहरूले जारी गर्ने सूचना, निर्देशन र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि दूतावासले जोड दिएको छ। विकसित घटनाक्रमबारे नियमित रूपमा अद्यावधिक जानकारी राख्न र कुनै समस्या परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ।
दूतावासले सबै नेपालीलाई संयमित रहँदै आफू बसोबास गरिरहेको स्थानमै सतर्क र सुरक्षित रहन पनि अपिल गरेको छ। राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड जस्ता महत्वपूर्ण कागजात सधैं साथमा राख्न पनि सुझाइएको छ।
यस्तै, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियो तथा सामग्री अनावश्यक रूपमा सेयर नगर्न, र परिवार, साथीभाइ तथा आफन्तसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ। आपतकालीन अवस्थामा दूतावाससँग तुरुन्त सम्पर्क गर्न दूतावासले सबैलाई सचेत गराएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























