तेल अविव – तमु नयाँ बर्ष ‘तल्हो’को उपलक्ष्यमा इजरायलमा एक बिशेष सांस्कृतिक कार्यक्रम हुदैछ । तमु नयाँ वर्ष ‘तल्हो’ (घोडा वर्ग) को स्वागत र ‘सप्र्हि–ल्हो’ (सर्प वर्ग) को बिदाईका अवसरमा तमु समाज इजरायलले एक विशेष एवं भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
तमु समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तमु समाज इजरायलले आगामी २ जनवरी २०२६, शुक्रबार का दिन तमू तल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम–२०८२ सम्पन्न गर्न लागेको हो। कार्यक्रम तेल अविव स्थित यद हारुचिम–१५ मा साँझ ७ बजेदेखि सुरु भई विहान ३ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सर्प वर्ग (सप्र्हि–ल्हो) लाई बिदाई गर्दै घोडा वर्ग (तल्हो–ल्हो) लाई विशेष विधि र परम्परागत संस्कारसहित स्वागत गरिनेछ। यस अवसरमा तमु समुदायको सांस्कृतिक नृत्य, गीत–संगीत, धार्मिक विधि–विधान, र विभिन्न सांस्कृतिक झाँकी एवं प्रस्तुति देखाइनेछ।
“ प्ये म्हस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु ”— शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ— भन्ने गहिरो सन्देश बोकेको मूल नाराका साथ सन् २००६ मा स्थापित तमु समाज इजरायल निरन्तर रूपमा समुदायका धार्मिक, सांस्कृतिक र सामाजिक पहलमा सक्रिय रहँदै आएको छ।
समाजका अनुसार, यस वर्षको ल्होसार कार्यक्रममा इजरायलभर बसोबास गर्ने तमु समुदायका सदस्यहरू, अन्य नेपाली संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका विभिन्न अग्रज–व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहनेछ।
तमु संस्कृतिमा ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभई पुर्खाहरूको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता र समुदायबीचको एकता को प्रतीक मानिन्छ। त्यसैले, इजरायलजस्तो बहुसांस्कृतिक स्थानमा बसोबास गर्ने तमु समुदायका लागि यस्तो कार्यक्रमले आफ्नो पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने समाजले जनाएको छ।
आयोजक तमु समाज इजरायलले सबै तमु तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर संस्कृतिको संरक्षण र प्रसारमा योगदान दिन हार्दिक आह्वान गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com





































