तेल अभिभ । हमासले बन्धकहरूको ३ शव भएको दाबी गर्दै कफिनहरू हस्तान्तरण गरेको छ । गाजापट्टीमा रेडक्रसमार्फत कफिनहरू प्राप्त गरिएको र औपचारिक पहिचानका लागि इजरायलमा पुर्याइएको बताइएको छ ।
शव बन्धककै हो भन्ने पुष्टि भएमा गाजाले दिन बाँकी इजरायली र विदेशी बन्धकको शव ८ हुनेछन् । गत महिना अमेरिकाको मध्यस्थतामा इजरायलसँग भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले आफ्नो कब्जामा रहेका २० जीवित र २८ मृत बन्धकहरूलाई फिर्ता गर्न सहमति गरेको छ ।
आइतबार अघि गाजामा मारिएका ११ बन्धकहरूमध्ये ९ जना इजरायली, एक तान्जानियाली र एक थाई छन् । बन्धकहरूको शव फिर्ता गर्न धेरै ढिलो गरेको आरोप इजरायलले हमासलाई लगाएको छ ।
उता, हमासले चाहिँ गाजा क्षेत्रमा भग्नावशेषमुनि फसेका शवहरू निकाल्न काम भइरहेको बताएको छ । हमासको सशस्त्र शाखा, अल–कस्सम ब्रिगेड्सले आइतबार दक्षिणी गाजापट्टीको एउटा सुरुङको बाटोमा बन्धकहरूको शवको अवशेषहरू फेला परेको बताएको थियो ।
पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आधिकारिक एक्स खातामा सबै बन्धकहरूका परिवारहरूलाई यसबारे अपडेट दिइएको बताइएको थियो । बन्धकहरूको शव फिर्ता लिने प्रयास जारी रहेको र अन्तिम बन्धक फिर्ता नहुँदा यो प्रयास नरोकिने पोस्टमा भनिएको थियो ।
बन्धक र बेपत्ताका परिवार मञ्चले नेतन्याहूलाई गाजाबाट बाँकी रहेका सबै मृतक बन्धकहरूलाई तुरुन्तै फिर्ता ल्याउन दबाब दिइरहेका छन् । यसैबिच हमास र इजरायलले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार उत्तरी गाजामा इजरायली हवाई आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ । आफ्ना सैनिकहरूको लागि खतरा उत्पन्न गर्ने एक लडाकुलाई प्रहार गरिएको इजरायली सेनाले भनेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com







































