तेलअविव, इजरायल – अक्टोबर १५, २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी ले हमासद्वारा अपहरणमा परेका कञ्चनपुर, भीमदत्त नगरपालिका निवासी विपिन जोशी को निधनप्रति गहिरो दुःख र संवेदना प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा जोशी अपहरणमा परेका थिए। लामो समयसम्म हमासको कब्जामा रहेका उनीप्रति परिवारजनले निरन्तर रिहाइको प्रयास गर्दै आएका थिए। जोशीको रिहाइका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् इजरायल र यूएसए शाखाले समेत सहजीकरणको भूमिका खेलेका थिए।

डा. केसीले विज्ञप्तिमा भनेका छन् —
“हमासको अपहरणमा परेका युवा विपिन जोशीको निधनको समाचारले सम्पूर्ण एनआरएनए परिवारलाई मर्माहत र स्तब्ध बनाएको छ। उज्ज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका जोशीको असामयिक निधनले सम्पूर्ण नेपाली समुदायले एक होनहार सुपुत्र गुमाएको महसुस गरेको छ।”
अध्यक्ष केसीले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले विदेशमा अध्ययन, रोजगारी वा अन्य कारणले बसेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूतिको लागि नेपाल सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले थप भने —
“यस्ता घटनाले विदेशमा रहेका नेपाली युवाको सुरक्षासँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाएका छन्। नेपाल सरकारले विदेशस्थित दूतावासहरू मार्फत नागरिक सुरक्षा सुनिश्चित गर्न ठोस नीति ल्याउनुपर्छ।”
साथै, अध्यक्ष केसीले विपिन जोशीको मृत्युको वास्तविक कारण र परिस्थितिको सत्यतथ्य पत्ता लगाउन, तथा उनका परिवारलाई न्याय दिलाउन र बीमा, क्षतिपूर्ति तथा सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्।
डा. बद्री केसी
अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)
मिति: अक्टोबर १५, २०२५
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com




































