काठमाडौँ । हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका कृषि विद्यार्थी विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार अमेरिका प्रस्थान गरेका छन्।
विपिन जोशी सन् २०२३ मा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलको किब्बुज आलुमिममा कृषि तालिमका लागि गएका थिए। तर २०८० असोजमा इजरायल–हमास युद्ध सुरु हुँदा उनी अपहरणमा परेका थिए र हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक भएको छैन।
यसअघि परिवार इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरिसकेको भए पनि प्रगति नदेखिएपछि अब संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने लक्ष्यसहित आमा–छोरी अमेरिका गएका हुन्। उनीहरूले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न पहल गर्न आग्रह गर्नेछन्।
यस अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्ण ऐक्यबद्धता जनाएको छ। विपिनको परिवारले एनआरएनएका अध्यक्ष डा. बद्री केसीलाई भेटी विश्वव्यापी पहलका लागि आग्रह गरेपछि संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको सहजीकरणमा अमेरिका यात्रा सम्भव भएको हो।
अमेरिकामा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनसीसी) ले प्रत्यक्ष सहयोग गरिरहेका छन्। क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा अमेरिका बसाइ सफल बनाउन तयारी भइरहेको छ।
यसअघि एनआरएनए इजरायलले पनि विशेष कार्यक्रममार्फत विपिनको रिहाइको माग गर्दै ऐक्यबद्धता जनाएको थियो। संघले मध्यपूर्वका विभिन्न मुलुकहरूमा समेत कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको छ।
नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गर्दै आएको भए पनि ठोस नतिजा नआएपछि जोशी परिवार अन्तर्राष्ट्रिय सहयोगका लागि निरन्तर प्रयासरत रहेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com