तेलअभिव – प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलले यस वर्ष पनि हरितालिका तीज २०८२ को अवसरमा विशेष दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
मञ्चले हरेक वर्ष राष्ट्रिय चाडपर्वहरू उल्लासपूर्वक मनाउँदै आएको परम्पराअनुसार यस वर्षको तीज पर्व पनि महिला विभागको आयोजनामा विशेष उत्साहका साथ मनाइनेछ। कार्यक्रम आगामी २०२५ अगस्ट २२, शुक्रबार साँझ सम्पन्न हुनेछ।
यस अवसरमा प्रवासी नेपाली मञ्चसँग आबद्ध सम्पूर्ण सदस्यहरूका साथै इजरायलमा सक्रिय रहेका विभिन्न राजनीतिक, सामाजिक, जातीय, धार्मिक, क्षेत्रीय, साहित्यिक र पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भई तीजको उल्लास साझा गर्न हार्दिक निमन्त्रणा गरिएको छ।
महिला विभाग प्रमुख गोमा उप्रेतीले सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागितामार्फत आफ्नो संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान दिन आग्रह गरेकी छन् भने संस्थाका अध्यक्ष रमेश जोशीले कार्यक्रमलाई सफल बनाउन सहयोग र उपस्थिति जनाउन र सबै दिदीबहिनीहरुलाई दर खान निम्तो दिएका छन ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायल परिवारले तीज पर्वलाई परदेशमा पनि भव्य र सान्दर्भिक रूपमा मनाउन सकिने विश्वास व्यक्त गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com