भैरहवा, साउन २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा औपचारिक निवेदन दर्ता गरेका छन्।
साउन १९ गते दिइएको उक्त निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम बैंक ग्यारेन्टीमार्फत थुनामुक्त गर्ने व्यवस्था माग गरेका हुन्। साथै, उनले दफा ७१ अनुसार अदालतबाट आदेशको अपेक्षा समेत राखेका छन्।
जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार विकास बस्नेतका अनुसार, “बिगो बराबरको रकम बैंक ग्यारेन्टीमा राखी रिहाइको माग गर्दै उहाँले निवेदन दिनुभएको हो। अब सो निवेदनमाथि आदेश दिने या नदिने विषयमा इजलासले निर्णय गर्नेछ।”
अहिलेसम्म सो निवेदनमाथि औपचारिक बहस सुरु भइसकेको छैन। लामिछानेको कानूनी पक्ष र सरकारी वकिलबीच बहस सम्पन्न भएपछि मात्र न्यायाधीशको इजलासबाट आदेश आउनेछ। उनलाइ सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही कारागारमा थुनामा राखिएको छ ।
निवेदन दर्ता भएको दिनमै, साउन १९ गते, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिन आदेश जारी गरिसकेको थियो।
यसपछि, साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा पूरक पेशी चढाइएको भए पनि, दुवै दिन लामिछाने पक्षका कानुन व्यवसायीहरूबाट पेशी स्थगित गरिएको जिल्ला अदालत रुपन्देहीको वेबसाइटमा उल्लेख छ।
अबको कार्यवाहीले लामिछानेको रिहाइ सम्भव हुने कि नहुने भन्ने विषयमा महत्वपूर्ण मोड लिनेछ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com